Logo

पर्यटन प्रवद्र्धनमा पाटाले सहकार्य गर्ने



नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रभावकारी प्रवद्र्धनका लागि अन्तरराष्ट्रिय सञ्जाल भएको प्यासिफिक एशिया ट्राभल एशोसिएसन पाटा नेपाल च्याप्टरले सहकार्य गर्ने भएको छ ।

उक्त प्रयोजनका निम्ति पाटा नेपालका पदाधिकारीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग छलफल गरी भ्रमण वर्षका आगामी कार्यक्रमलाई समन्वय र सहकार्यका साथ सफल बनाउन पहल थालेको हो ।

पाटाका अध्यक्ष सुनील शाक्य नेतृत्वको टोलीले आज पर्यटनमन्त्री भट्टराईसँग भेट गरी भ्रमण वर्षका कार्यक्रमलाई आगामी दिनमा कसरी प्रभावकारी र फलदायी बनाउने भन्ने विषयमा छलफल भएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए ।

पाटाले भ्रमण वर्षका अवसरमा नेपाल–भारत र चीनबीच सामूहिक पर्यटन प्रवद्र्धनका कार्यक्रमबारे पर्यटनमन्त्रीलाई अवगत गराएको थियो ।

सो अवसरमा पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षमा छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्नका लागि मन्त्रालय तथा सरोकार भएका निकायसँग साझेदारी गरी प्रभावकारी प्रवद्र्धनात्मक गतिविधि अगाडि बढाउने बताएका छन् ।

उनले भारत र चीन लक्षित प्रवद्र्धनात्मक गतिविधिले भ्रमण वर्षलाई सफल पार्न सहयोग पुग्ने पाटा नेपालले गर्ने पर्यटन प्रवद्र्धनका कामलाई मन्त्रालयले सक्दो सहयोग गर्ने धारणा राखेका छन्। पाटाले नेपालमा हिमालय ट्राभल मार्टलगायत महत्वपूर्ण पर्यटकीय इभेन्ट आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्