Logo

सबेरैदेखि रातिसम्म खट्छन् पहाडी ‘ट्रक’



सिमकोट, मङ्सिर ७। सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका लागि खच्चडले भारी नबोक्ने भए कति महँगो पथ्र्यो होला रु वास्तवमा हिमाल र पहाडको यो जिल्लाका ‘ट्रक’ वा ‘ट्र्याक्टर’ हुन् खच्चड । तिनैले बिहान सबेरैदेखि रातिसम्म भारी बोक्दा हिमाली जीवन केही सहज भएको छ ।

नेपालगन्ज र सुर्खेतबाट हवाई ढुवानीको भाडा महँगो परिरहेकै अवस्थामा मुगुको गमगढी र बाजुराको कोल्टीबाट दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामग्रीसम्म यिनै खच्चडले बोक्छन् । भारी बोक्ने खच्चडले सर्वसाधारणलाई राहत महसुस भएको छ भने रोजगारी पनि सिर्जना भएको छ ।

चङ्खेली गाउँपालिका–२, दार्मका लोकेन्द्र शाहीले यी ट्र्याक्टरको प्रयोग गर्न थालेको चार वर्ष भयो । आम्दानीको बलियो माध्यम भएकाले उनका लागि यी खच्चड सबै थोक हुन् । महिनामा डेढ लाख रुपियाँसम्म आम्दानी यसै माध्यमबाट हुने उनी बताउन्छन् ।

मुगुको गमगढीबाट हुम्लाको चङ्खेली, सर्केगार्ड, खार्पुनाथदेखि सिमकोटसम्म दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामान, इन्धन, लिटोलगायत सामग्री ढुवानी गर्ने काम पाउँदा उनको कमाइ राम्रो भएकोे हो । दुःख पनि बढी हुने र कमाइ पनि राम्रो हुने देखिएपछि शाहीले यो व्यवसाय अँगाल्दै आएका छन् ।

तीन जना श्रमिकलाई परिचालन गरेर ३५ वटा खच्चड एकसाथ ढुवानीका लागि प्रयोग हुँदै आएको शाहीले बताए । सडक सञ्जाल जोडिएका ठाउँमा यातायातका साधनहरू सञ्चालनमा आए पनि नेपालको एक मात्र सडक यातायात नजोडिएको हुम्ला जिल्लामा यिनै खच्चडलाई ट्र्याक्टरको संज्ञा दिन्छन उनी । यही ट्र्याक्टरले गर्दा चर्को हवाई ढुवानीको मारमा परेका जनतालाई केही मात्रामा भए पनि राहत मिलेको छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्