Logo

अझै फिर्ता भएन अतिरिक्त शुल्क



काठमाडौँ, मङ्सिर ७ । विद्यार्थीसँंग लिएको अतिरिक्त शुल्क फिर्ता दिन सरकारले दिएको १५ दिने समयसीमा सकिन चार दिन बाँकी मात्र बाँकी छ । मेडिकल कलेजहरूले शुल्क फिर्ता गर्न अटेर गरिरहेका छन् भने विद्यार्थीहरू माग पूरा गराउन सडकमा पोखिएका छन् ।

नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल साइन्सेज भैरहवा, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजलगायतका कलेजमा शुल्क बढी लिएको भन्दै विद्यार्थीहरू आन्दोलित भए पनि कलेजले शुल्क फिर्ता गर्न आनाकानी गरिरहेका छन् । नेपाली सेनाले सञ्चालन गरेको मेडिकल कलेजमा समेत आठ लाख रुपियाँसम्म अतिरिक्त शुल्क लिएको विषय सार्वजनिक भइसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रालयले १५ दिनभित्र विद्यार्थी र मेडिकल कलेजबीच सहमति गरी समस्या समाधान गर्न निर्देशन दिएको र त्यसबारेमा मन्त्रालयले अनुगमन गरिरहेको जानकारी दिए । उनले १५ दिनभित्र मेडिकल कलेजहरूले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न चासो नदिए सम्बन्धित विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने बताए ।

उनले विद्यार्थीको उजुरीपछि सम्बन्धित मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही हुने जानकारी गराए । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक अन्य शीर्षकमा २२ लाख रुपियाँसम्म बढी शुल्क असुलेको विद्यार्थीको आरोप छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्