Logo

पुटिनको नेपाल भ्रमण किन गराउन चाहन्छन् ओली



काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिराष्ट्रका कार्यकारी प्रमुखहरुलाई नेपाल भ्रमणमा ल्याउने क्रम जारी राखेका छन् । उनको कार्यकालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए । चीनका राष्ट्रपति सी जिनपिङको पनि नेपाल भ्रमण गराए ।

ओलीले आफ्नो परराष्ट्र नीतिमा अब छिमेकभन्दा बाहिर पनि पखेटा फैलाउने कुरा गरेका थिए । जुन विषयलाई परराष्ट्रपति प्रदीप ज्ञवालीले सार्वजनिक रुपमा बोले । ओलीको यही रणनीति अनुसार विभिन्न देशका नेताहरुलाई नेपाल भ्रमण गराइँदैछ ।

हालै बँगलादेशका राष्ट्रपति नेपाल भ्रमण गरेर फर्किए । ओलीको अबको लक्ष्य रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमण गराउने रहेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भ्रमणको तयारीका लागि रुस प्रस्थान गर्दैछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निम्तोपत्र समेत बोकेका छन् । पुटिनको भ्रमण गराएर ओलीले आफ्नो कार्यकालमा नेपाल अन्तर्राष्ट्रिय जगतमा महत्व बढेको सन्देश दिन खोजेका छन् । यसबाहेक रुसको नेपालमा चासो बढ्दै गएको देखिदैछ । विशेषगरी नेपालको ऊर्जा र प्रविधिका क्षेत्रमा रुसको लगानीको चासो देख्ए्रिको हो । संसारमा सबैभन्दा बढी हतियार विक्री गर्ने देशमा पर्ने भएकाले पनि रुसको हतियार विक्रीमा समेत चासो रहेको छ ।

ओलीको कार्यकालमा अमेरिकाको नेपालमा चासो बढेको छ । इन्डो प्यासिफिकको विषय आएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहिलोपटक अमेरिकी सरकारबाट औपचारिक निम्तो पाए । उनी अमेरिका भ्रमण गर्दा त्यहाँका विदेशमन्त्री माइक पम्पिओसँग भेटवार्ता गरे । यो आफैमा ऐतिहासिक क्षण बन्यो । ओली सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत नेपाल भ्रमण गराउने पहल थालिसकेको छ । यसको खुलासा नेकपाका प्रभावशाली नेता वामदेव गौतमले गरिसकेका छन् ।

शक्तिराष्ट्रहरुको नेपालमा बढ्दो चासो र अन्तर्राष्ट्रिय जगतमा नेपालको महत्व बढेको सन्देश दिन पनि ओली सरकारले त्यहाँका नेताहरुलाई भ्रमणमा ल्याउन पहल गरिरहेको छ । यसलाई आफ्नो सफल परराष्ट्रनीतिका रुपमा प्रस्तुत गर्न खोजिरहेका छन् । Photo Source: APP



प्रतिक्रिया दिनुहोस्