Logo

प्रदेश नं. ३ का मुख्यमन्त्रीद्वारा सडक अनुगमन



प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी–इपा सडक तथा निजगढ काठमाडौँ द्रुत मार्गको अवलोकन तथा अनुगमन गरेका छन् । अवलोकनका लागि उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपापञ्चकन्या लगायतका क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङमार्गको अध्ययन गरिएको स्थानको समेत निरीक्षण गरे ।

भीमफेदी–इपा सडकको अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले सडक फराकिलो र दीर्घकालीन हिसाबले बन्न लागेकामा खुशी व्यक्त गर्दै उक्त सडकलाई हेटौँडाबाट काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा समेत प्रयोग गर्न सकिने बताए । रु २६ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक तोकिएकै मितिमा सम्पन्न गर्न मुख्यमन्त्रीले निर्देशन दिए ।

एक वर्ष अगाडिदेखि निर्माण प्रारम्भ भएको उक्त सडक सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ । यस सडक सञ्चालन भएपछि काठमाडौँ ईपा–देउराली सडकखण्ड हुँदै सवारी सञ्चालन हुनसक्ने तथा भीमफेदी गाउँपालिकाका स्थानीयवासी लाभान्वित हुने गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।



प्रतिक्रिया दिनुहोस्