Logo

ऋषि धमला देशका विकट क्षेत्रमा पुग्नु जरुरी छ : मुख्यमन्त्री शाही



(सुर्खेतबाट अप्सरा विष्टको सहयोगमा)

काठमाण्डौ । रिपोर्टर्स क्लब नेपाल कर्णाली प्रदेशको प्रथम अधिबेशन तथा अन्तक्रिया आज सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागि हुन पुगेका क्लबका सभापति ऋषि धमलाले कर्णाली प्रदेशको विकासमा केन्द्रित हुन प्रदेश सरकारलाई आग्रह गरे । कर्णाली प्रदेशमा विकासका लागि सुन, फलाम, तामाखानी, पेट्रोललगायतको खानी नै रहेकाले त्यसको सदुपयोग गर्नुपर्ने धमलाको भनाई थियो ।

“कर्णाली प्रदेशमा के छैन ? सुन पनि यहीँ छ, हिरा पनि यहीँ छ, फलाम पनि छ, नदिनाला छ, जडिबुटी पनि छ । यो प्रदेश नमुना र उदाहरणीय प्रदेश बनाउनुपर्छ ।” धमलाले भने ।

आफू सुर्खेत दोस्रो पटक पुगेको स्मरण गर्दै धमलाले कर्णाली प्रदेशको विकास निर्माणलाई राष्ट्रिय एजेण्डा बनाउनुपर्ने बताए । उक्त प्रदेशको उन्नति र प्रगति गर्दै जनतालाई खुशी बनाउन सबै केन्द्रित हुनुपर्नेमा धमलाले जोड दिए ।

आगामी वर्षदेखि क्लबको कर्णाली प्रदेश शाखाले हरेक वर्ष उक्त प्रदेशका २ जना पत्रकारलाई सम्मान गर्ने घोषणा पनि धमलाले गरेका छन् । साथै समाचार लेखेकै भरमा पत्रकारलाई दुःख दिने काम कसैले पनि गर्न नहुनेमा धमलाले जोड दिए ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पत्रकार धमलालाई उक्त प्रदेशका विकट क्षेत्रमा भएका विकास निर्माणका काम अवलोकन गर्न आग्रह गरे । प्रदेश सरकारले उल्लेखनीय काम गरेको दावी गर्दै शाहीले कर्णाली प्रदेशमा भइरहको राम्रा काम र समस्याका विषयमा उजागर गरिदिन आग्रह गरेका छन् ।

शाहीले नेपालकै चर्चित र युवा पत्रकार भएका नाताले धमलाको भूमिका हरेक क्षेत्रमा महत्वपूर्ण हुने बताए । “ऋषि धमला भन्नासाथ बालबालिकादेखि वृद्धसम्मले चिन्छन् । ऋषि धमलाको नाम त अर्लाम राखे पनि हुन्छ भन्छन् । किनकी विहानैदेखि धमला रेडियोमा कार्यक्रम चलाउन सुरु गर्छन् ।” शाहीले भने ।

“राति १२ बजेसम्म पनि काम विहान ६ बजेदेखि पनि काम सुरु । यति उर्जाशिल पत्रकार अरु कोही छैन ।” उनले थपे ।

धमलाले पनि कर्णाली प्रदेशको राम्रा र नराम्रा दुवै खाले गतिविधिको उजागर गर्ने बताएका थिए । समस्यालाई सार्वजनिकरण गर्न धमलाको भूमिका महत्वपूर्ण हुने शाहीको तर्क थियो ।

साथै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताएका थिए । “कर्णाली प्रदेशमा धेरै समस्या छन् । समाधान लागि साझा प्रतिवद्धता आजको आवश्यकता हो । काम गर्ने तरिका, स्वभाव, परम्परालाई सुधार गर्न तयार छौँ । सबै साधन स्रोतको उचित सदुपयोग गर्न तयार छौँ ।” शाहीले भने ।

२१ वर्ष अघि स्थापित काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको रिपोर्टर्स क्लब नेपालले देशका अधिकांश जिल्लामा शाखा विस्तार गरिसकेको छ । संघीतापछि क्लबले प्रदेशअनुसारको शाखा पनि विस्तार गरिसकेको छ । कार्यक्रममा धमलाले क्लबको उद्धेश्य नै सबै वर्गका नागरिकको समस्या र गुनासो राख्ने ठाउँ रहेको उल्लेख गरेका थिए ।

क्लबले देश र जनताको हितमा सधैँ महत्वपूर्ण भूमिका खेल्ने धमलाको दावी छ । कार्यक्रमको प्राइम टाइम्स टेलिभिजनको प्रत्यक्ष प्रशारण गरेको थियो ।

ऋषि धमला सुर्खेत पुग्दा…



प्रतिक्रिया दिनुहोस्