Logo

प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नेपालको भूमी आफ्नो नक्शामा राख्यो



पोखरा, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा राखेको गम्भिर आरोप लगाएका छन् ।

शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री ओलीको सहमतिबेगर भारतले लिपुलेक र कालापानीमा दाबी गर्न नसक्ने जिकिर गरे । उनले भने,‘म प्रधानमन्त्री हुँदा महाकाली सन्धि भएको हो । महाकाली नदीलाई सीमा मानेर पानी आधा-आधा गर्ने सहमति भएको हो ।’

उनले प्रधानमन्त्री ओली भारतसँग लम्पसार परेको पनि आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री ओलीजी लिपुलेक र कालापानी भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गर्दै लम्पसारवादमा परिणत हुनुभयो । हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भू–भाग फिर्ता ल्याउन पहल गरौं, हामी साथ दिन्छौं भन्यौं । सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं । तर, सरकार मौन छ । कानमा तेल हालेर अझै बसिरहेको छ ।’

उक्त चुनावी सभामा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतका शीर्ष नेताहरुले पनि सम्बोधन गरेका थिए । उनीहरुले वर्तमान सरकार असफल भएको र जनताको अधिकार कुण्ठित गर्दै अघि बढेको आरोप लगाए । उनीहरुले कांग्रेसका उम्मेद्धवारलाई भारी मतले विजयी गराउन पनि अपिल गरेका थिए । file photo/Mukunda Kalikote-RCN



प्रतिक्रिया दिनुहोस्