Logo

मन्त्रिमण्डल हेरफेर सरकार असफलताको प्रमाण : लेखक



बैतडी,७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले वर्तमान कम्युनिस्ट सरकारले संविधान भत्काउने कार्य गरेको गम्भिर आरोप लगाएका छन् । शनिबार बैतडीको डोगडाकेदार गाउपालिका वडा नम्बर–४ मा आयोजित चुनावी सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता लेखकले यस्तो बताएका हुन् ।

उनले सरकार विकासबिरोधी रहेको पनि आरोप लगाए । उनले भने,‘यो सरकारले रेल र पानी जहाजका सपना बाँडने मात्रै काम गर्यो । सरकारले पुर्ववर्ती सरकारले शुरु गरेका कार्यसमेत रोकेको छ । म मन्त्री हुँदा अरवौं रुपैयाँ बजेट बिनियोजन गरेको त्रिदेशीय नाकाको रुपमा रहेको महाकाली करिडोरको काम बजेट अभावमा रोकिएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असफलता ढाकछोप गर्न मन्त्रीहरुले राम्रो कार्य नगरेको भनेर हेरफेरमा लागेको पनि उनको आरोप छ । उनले भने,‘मन्त्री मण्डल हेरफेर गर्नुले सरकार असफल भएको प्रमाणित भैसकेको छ । निर्वाचनमा झुठो आस्वासन दिएर जनमत लिएको सरकारले जनाआकांक्षा पूरा गर्न नसकेकोले सरकारप्रती जनता निराश छन् ।’

वर्तमान सरकारले ‘समृद्द नेपाल, सुखी नेपाली’ को नारा दिएपनि जनतालाई महङ्गी र करको मारमा पारेको लेखकको गम्भिर आरोप छ । उनले
सरकार अधिनायकवादउन्मुख रहेकोले सरकारको निरंकुशतालाई अङ्कुश लगाउन कांग्रेसको पक्षमा मतदान गर्न आव्हान समेत गरे ।



प्रतिक्रिया दिनुहोस्