Logo

तरकारी सस्तो हुनुपर्ने मौसममा भाउ बढेपछि उपभोक्ता मारमा



काठमाण्डौ । हिउँदे तरकारी आएर यतिबेला सस्तो हुनुपर्ने बेलामा तरकारीको भाउ बढेर उपभोक्त मारमा परेका छन् । तर मंसिर पहिलो साता बितिसक्दा पनि यसपटक बजार भाउ घटेको छैन । राष्ट्रबैँकको तथ्याङ्कले महङ्गी नियन्त्रण गर्न सरकार असफल भएको पुष्टी गर्छ ।

नेपाल राष्ट्रबैँकले चालु आर्थिक वर्ष २०७६–७७ को पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । माथि उल्लेखतिमध्ये सबैभन्दा बढि मूल्यवृद्धि तरकारीमा भएको छ ।

राष्ट्रबैँकको तथ्याङ्कले महङ्गी नियन्त्रण गर्न सरकार असफल भएको पुष्टी गर्छ । पहिलो तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा औसत मुद्रा स्फिती ६.४४ प्रतिशत रहेको देखाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । दैनिक प्रयोग गर्नुपर्ने तरकारीको मूल्य बढ्दा उपभोक्ता अत्यन्तै मर्कामा परेका छन् ।

धेरै उपभोक्ताले मन पराउने काउलीको मूल्य गत वर्षको तुलनामा अहिले ७० प्रतिशत रहेको छ । निकै चर्चामा रहेको प्याजको मूल्य २ सय ३६ प्रतिशतले बढेको छ । पोहोर यतिबेला ३५ रुपैयाँ प्रतिकिलो पर्ने काँक्रो १ सय ५५ रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा ३ सय ४२ प्रतिशत बढि हो । सबैजसो तरकारीको मूल्य अघिल्लो वर्ष यही समेको तुलनामा अत्याधिक बढेको उपभोक्ताको गुनासो छ ।

गत वर्ष यतिबेला हिउँदे तरकारी मागभन्दा बढि नै बजारमा आउँथ्यो । घटेको भाउमा उपभोक्ताले किन्न पाउँथे । यतिबेला भाउ घट्नुको साटो कयौँ गुणा बढेको छ । स्थानीयस्तरका उत्पादन नै नआएका कारण तरकारीको भाउ बढेको कालीमाटीका थोक व्यापारीको भनाई छ । यसपालि हाम्रा किसानले फलाउने तरकारी नआएको कारण बिदेशिको निर्भर रहनुपर्ने भएकोले मंङगो भएको व्यापारी बताउँछन् ।

सरकारले उचित नीतिको अभावमा तरकारी किसान बैदेशिक रोजगारी र पेसा परिवर्तन तर्फ लाग्दै गएका कारण स्थानीय उत्पादनमै कमी आउन थालेको छ । किसानका नाममा विनियोजित बजेट निसानका खेतबारीमा पुग्दा तरकारीमा परनिर्भरता त बढ्दै छ नै निम्न र मध्यम आय भएका उपभोक्ता यस वर्ष थप चर्को महङ्गिमा परेका छन् । तर सरकार भने मुकदर्शक बनेर बसिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्