Logo

प्रधानमन्त्री ओली निवास सरे



काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली हाल बसिरहेको बालुवाटारस्थित निवासबाट सरेका छन् । नयाँ भवन बनाउने तयारी भइरहँदा उनी निवासबाट सरेका हुन् ।

बिहिबार आफ्नो सरकारी निवास छाडेर यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना बस्ने क्वार्टरमा सरेका हुन् । हाल प्रधानमन्त्री बसिरहेको निवासलाई दुई चरणमा भत्काएर नयाँ बनाउने शहरी विकास तथा भवन विभागको तयारी कार्यान्वयनमा आएसँगै प्रधानमन्त्रीले सरकारी निवास छाडेका हुन् । विभाग स्रोतका अनुसार, पहिलो चरणमा भवनको आधा भाग भत्काइने भएपछि प्रधानमन्त्री बसिरहेको निवासमा हुने वातावरणीय र ध्वनी प्रदूषणका कारण विज्ञहरुको रायअनुसार प्रधानमन्त्रीलाई स्थानान्तरण गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पूर्व सभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि सरिसकेका छन् । तिमिल्सिना बसेको बालुवाटारकै सरकारी निवासमा प्रधानमन्त्री स्थानान्तरण हुनु अघि भवन विभागले रंगरोगन र मर्मत सम्हार तथा साजसज्जा गरेको थियो । सभामुख क्वार्टर राष्ट्रिय सभाका अध्यक्षले प्रयोग गरेपछि नयाँ बन्ने सभामुखलाई कहाँ राख्ने भन्ने चिन्तामा भवन विभाग रहेको छ ।

यसअघि राष्ट्रिय सभाका अध्यक्षलाई पुल्तोकस्थित मन्त्री क्वार्टरमा रहेको नयाँ भवनमा राख्ने तयारी भए पनि प्रोटोकलको समस्या, सुरक्षा र सवारी साधन पार्किङ लगायतका कारण देखाउँदै मुख्यसचिवका लागि बनाइएको क्वार्टरमा राष्ट्रिय सभाका अध्यक्षलाई राखिएको थियो ।

मुख्यसचिवलाई भने निजामती श्रीमती संघको लागि भनेर बालुवाटारमै बनाइएको भवनमा राख्ने सम्भावना बढेर गएको छ । उक्त भवन तयारी अवस्थामा रहेको भए पनि उपयुक्त नभएको र सानो भएको भन्दै वर्तमान मुख्यसचिवले प्रयोग गर्न नमानेको विभाग स्रोतले बताएको छ । उक्त भवन पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईलाई देखाइएको भए पनि उनले पनि उपयुक्त नभएको भन्दै प्रयोग गर्न मानेका थिएनन् । त्यसपछि विभागले पर्यटनमन्त्रीका लागि उपराष्ट्रपति नन्दकिशोर पुनले प्रयोग गरेको लैनचौरको भवनमा व्यवस्थापन गरेको थियो File Photo



प्रतिक्रिया दिनुहोस्