Logo

माथिल्लो कर्णालीको निर्माण सन् २०२१ देखि



काठमाडौं, मंसिर ८ । ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण सन् २०२१ देखि सुरु हुने प्रवर्द्धक कम्पनी जीएमआरले जनाएको छ । जीएमआरका प्रमुख सञ्चालन अधिकृत सीओएफ हरविन्दर मोनोचाले आगामी आर्थिक वर्षभित्र साइट क्लियरको काम सकेर सन् २०२१ देखि निर्माण थाल्ने बताए ।

‘सन् २०२० भित्र मुआब्जा र साइट क्लियरलगायत काम सकेर सन् २०२१ देखि आयोजना निर्माण थालिनेछ,’ काठमाडौंमा आयोजित ऊर्जा सम्मेलन २०१९ मा बोल्दै उनले भने, ‘निर्माण सुरु गरेको ५ वर्षमा आयोजनाको काम सकिन्छ ।’ मोनोचाले बंगलादेश सरकारले माथिल्लो कर्णालीबाट ५ सय मेगावाट विद्युत् खरिदको सहमति गरिसकेको बताए ।

‘बंगलादेशको मन्त्रिपरिषद्ले जीएमआरले उत्पादन गरेको बिजुली खरिद गर्ने दर निर्धारण गर्ने सहमति दिइसकेको छ,’ उनले भने, ‘अब बंगलादेशको पर्चेज कमिटीले निर्णय गरेसँगै विद्युत् खरिद सम्झौता पीपीए गर्ने बाटो खुल्नेछ ।’

अबको केही समयभित्रै बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएन सँग विद्युत् खरिद–बिक्री सम्झौता हुने उनले बताए । आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५ सय मेगावाट बंगलादेश लैजाने र २९२ मेगावाट भारतीय कम्पनी एनभीभीएनलाई बिक्री गर्ने प्रवर्द्धकको योजना छ ।

बाँकी १०८ मेगावाट नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराउने सम्झौता रहेको आजको कान्तीपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्