Logo

‘मलखाद र बीउबिजन पहिलो प्राथमिकता’



काठमाडौँ, ८ मंसिर । आवश्यक परेका बेलामा किसानलाई मलखाद र बीउबिजन उपलब्ध गराउनु आफ्नो पहिलो प्राथमिकता भएको कृषिमन्त्री घनश्याम भुसालले बताएका छन् । मन्त्री बनेपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जाने क्रममा भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा शनिबार मन्त्री भुसालले नेपाली किसानले मलखाद र बीउबिजन नपाउने समस्या भने पञ्चायत कालदेखि नै भोग्दै आएको बताए ।

‘राजा छन्, सरकार छ तर समयमा किसानले मलखाद र बीउबिजन पाउँदैनन् भन्दै मैले नै पञ्चायत कालदेखि भाषण गर्दै आएको हुँ,’ मन्त्री भुसालले भने, ‘४० वर्षदेखि एउटै समस्याले पिरोल्दै आएकाले हामी कस्तो समस्यासँग जुध्दै आएका रहेछौं भन्ने देखाउँछ ।’ नैतिक रूपमा पनि आफूले बोल्दै आएको विषय प्राथमिकतामा पर्ने उनले बताए । समयमै किसानलाई मलखाद र बीउबिजन उपलब्ध गराउन खरिद र वितरण प्रक्रियालाई छिटोछरितो बनाउनुका साथै पर्याप्त सूचना लिइने उनले जनाए । आफू मन्त्री बनेपछि कृषि क्षेत्रमा आएको सामान्य परिवर्तन महसुस गर्न कम्तीमा पनि एक महिना लाग्ने उनले बताए । ‘वास्तविकता बुझ्न र सिक्न मैले पनि धेरै बाँकी छ,’ उनले भने, ‘म कुनै पनि खालका डर र लोभले प्रभावित हुने छैन ।’ आफू मन्त्री बन्दा सरकारको बजेट, नीति तथा कार्यक्रम पारित भएको धेरै समय बितिसकेकाले कृषिको क्षेत्रमा परिवर्तनकारी धेरै कुरा गर्नुभन्दा विद्यमान कृषि नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेतर्फ आफ्नो बढी भूमिका रहने उनले बताए ।

‘प्रम र मेरो रोजाइ मिल्यो’
आफू कृषिमन्त्रीमा नियुक्त हुनुमा प्रधानमन्त्री र आफ्नो रोजाइ मिलेको भुसालले बताए । कृषि मुलुकको प्राथमिकताको क्षेत्र भएको र कृषि क्षेत्रमा विभिन्न समस्या रहेकाले यसलाई सम्बोधन गर्नुपर्छ भन्दै कृषि मन्त्रालय सम्हाल्न प्रधानमन्त्रीले आफूलाई भने पनि आफूले सहज रूपमा स्विकारेको भुसालले बताए । ‘कृषि मन्त्रालय सम्हाल्नुमा मेरो आफ्नै र प्रधानमन्त्री दुवैको रोजाइ मिलेको छ,’ उनले भने ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्