Logo

लागेन किरा सप्रिए जुनार



काठमाडौँ, ८ मंसिर । सिन्धुलीको गोलन्जोर ४ तिनकन्याकी देवीकुमारी ठकुरी यसपालि जुनार उत्पादन राम्रो भएपछि दंग छिन् । ४ वर्षदेखि जुनारमा किराको प्रकोप देखिएपछि हैरान उनी यस वर्ष भने किरा नियन्त्रण भएको बताउँछिन् । ‘यस वर्ष पनि जुनारमा किरा लाग्यो भने अर्को वर्षदेखि बोटै मास्ने सोच बनाएकी थिए । त्यसो गर्नु परेन,’ उनले भनिन् ।

देवीकुमारीले ३ सय बोट जुनार लगाएकी छन् । जुनारबाट गुजारा चलाउँदै आएको उनको परिवारलाई ४ वर्षदेखि दिक्क लागेको थियो । किरा लागेर जुनार झर्न थालेपछि परिवार चलाउन मुस्किल परेको थियो । छोराछोरीको पढाइ खर्च जुटाउन हम्मेहम्मे भएपछि देवीकुमारीको परिवार जुनार मासेर अरू खेती गर्ने सोचमा पुगेको थियो । ‘यस वर्ष त एक दुई दाना जुनार मात्र झरेको छ । त्यही पनि पोहोर परारको जस्तो किरा लागेर नभई पुतलीले चुसेर हो,’ उनले भनिन् । यस वर्ष किरा नियन्त्रणका लागि विषादी ९प्रोटिन वेट० छरेकाले जुनार सुरक्षित भएको हो । वडाध्यक्षसमेत रहेका अर्का जुनार कृषक वेगबहादुर आलेमगरले पनि यस वर्ष जुनार उत्पादन राम्रो भएको बताए । ‘पोहोर, परारको जस्तो यस वर्ष जुनार झरेन । यति त ब्याक्टोसेरा मिनाक्स किराको प्रकोप देखिनुभन्दा पहिले पनि झर्थ्यो,’ उनले भने । गाउँमा सबैभन्दा बढी जुनार उनैले लगाएका छन् । उनको बगैंचामा ५ सय बोट जुनार छन् । सबै खर्च कटाएर वार्षिक १५ लाख आम्दानी गर्छन् । वेगबहादुरले तीनकन्याका रानीखोला, माथ्लो आले गाउँ, तल्लो आले गाउँ, माझकुपिन्डे लगायत ठाउँमा यसपालि किराको प्रकोप न्यून भएको बताए । ‘हाम्रो वडामा त किराको प्रकोप हराइसक्यो भन्दा पनि हुन्छ,’ उनले भने ।

गोलन्जोर ५ नयाँखर्ककी मीना मगरको पनि जुनार बगैंचामा यस वर्ष किराको प्रकोपमा कमी आएको छ । गत वर्ष किराले सबै जुनार सखाप पारेको थियो । २ सय बोट जुनार लगाएकी मीनाले त्यसैबाट घर व्यवहार चलाउनुका साथै छोराछोरीको पढाइ खर्च टार्दै आएकी छन् । ४ वर्षदेखि जुनारमा किराको समस्या देखा परेपछि उनलाई व्यवहार चलाउनै मुस्किल परेको थियो । यस वर्षबाट भने जुनारमा किरा लाग्न छोडेपछि मीनाका परिवारमा खुसी छाएको छ । पहिलेको जस्तै सहज रूपमा घर व्यवहार चल्नेमा उनको परिवार ढुक्क छ । जुनार सुपरजोन सञ्चालक समितिका अध्यक्ष गोविन्द लुंगेली मगर पनि यस वर्ष जुनारमा फल कुहाउने औंसा ब्याक्टोसेरा मिनाक्सको प्रकोपमा कमी आएको बताउँछन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्