Logo

धादिङमा व्यावसायिक किवीखेती सुरु



काठमाडौँ, ८ मंसिर । धादिङ जिल्लामा पहिलोपटक व्यावसायिकरूपमा किवी खेतीको सुरुवात गरिएको छ । नगदेबालीका रूपमा समेत हेरिएको किवीखेती नीलकण्ठ नगरपालिका–१ का दुई युवा मिलेर व्यावसायिक रूपमा सुरु गरेका हुन् ।

पहाडी क्षेत्रको चिसो हावापानी भएको ठाउँमा किवी खेती राम्रो हुने सुनेपछि धादिङका दुई युवा कृष्ण अधिकारी र प्रेम तामाङ मिलेर नीलकण्ठ नगरपालिकाको वडा नं १ काउलेमा व्यावसायिक किवीखेती सुरु गरेका हुन् । जिल्लामा नै पहिलोपटक व्यावसायिकरूपमा खेती गरिएको किवीको यस वर्ष किसानहरूले दोस्रो उत्पादन लिन लागेको किसान कृष्ण अधिकारीले बताए । ‘फलफूल प्रजातिमा पर्ने किवी धेरै पौष्टिक तत्व पाइने फलफूल हो,’ उनले भने, ‘प्रयोगमै नआएर बाँझै रहेको दुई ठाउँको करिब २० रोपनी जमिनमा व्यावसायिक खेती सुरु गरेका हौं ।’ सुरुमा केही प्राविधिक ज्ञान नभएकाले धेरै समस्या भोग्नुपरे पनि अहिले सहजै आम्दानी लिन सकेको उनले बताए ।

किवी मानव स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक फलफूल मानिन्छ । किवीमा पाइने एक्टिनिडेन भनिने खनिज पदार्थले प्रोटिनलाई छिटो पचाउन मद्दत गर्छ । यसले पाचन शक्ति बढाउने काम गर्ने बताइन्छ । किवीमा पोटासियमको मात्रा प्रशस्त हुने भएकाले रक्तचाप नियन्त्रण गर्न सहयोग मिल्ने र किवीमा पाइने उच्च भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सकहरू बताउँछन् । धेरैथरि रोगको औषधिको काम गर्ने र नयाँ खेती भएकाले पनि पहाडी क्षेत्रका किसानले पुराना खेतीपाती छाडेर किवी खेती गर्न थालेका हुन् । तीन वर्षअघि काउलेमा ११ लाख रुपैयाँको लागतमा सुरु गरिएका किवी खेतीले गत वर्षदेखि उत्पादन दिन सुरु गरेको थियो तर यस वर्ष बेच्ने बेला भएको किवीमा सामान्य समस्या देखापर्न थालेको छ । अहिले किवीको पात सुक्दै जाने, जालीजस्तो हुने विस्तारै बोट नै मर्दै जाने समस्या देखा पर्न थालेको छ ।

फलफूलमध्ये अत्यधिक पौष्टिक तत्व पाइने र बजारमा बेचबिखन गर्न पनि सजिलो हुने देखेर खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै व्यावसायिक किवी खेती सुरु गरिएको कृषक अधिकारीले बताए । किवीको फल लाग्ने समयमा असिनापानीका कारण क्षति व्यहोरेका किसान अहिले फल पाकेर टिप्ने बेलामा पनि रोगको सामना गर्नु परेपछि उत्पादन कम हुनेमा चिन्तित छन् । आम्दानी नै लिन नपाई रोगको प्रकोप देखापर्न थालेपछि लगानी नउठ्ने हो कि भन्ने चिन्तामा किसानहरू परेका छन् । विश्व बजारमा किवीको माग अत्यधिक भएकाले आफूहरूले व्यावसायिक खेती गर्न थालेको किसान अधिकारीले बताए । ‘नौलो खेती भनेर सामान्य जानेबुझेको आधारमा खेती गर्दा धेरै उत्पादन लिन सकिएन,’ उनले भने, ‘दुई वर्ष भयो उत्पादन लिन थालेको गत वर्षभन्दा यस वर्ष उत्पादन दोब्बर नै बढेको छ ।’
यस वर्ष काउलेमा गरिएको किवीखेतीबाट करिब चालिस क्विन्टल उत्पादन लक्ष्य लिइएको भए पनि असिनापानी र रोगको प्रकोपका कारण बढीमा १० क्विन्टल मात्र उत्पादन हुने किसानको अनुमान छ । धादिङ जिल्लामा नयाँ खेती भएकाले यसका बारेमा ज्ञान भएका विज्ञ पनि कृषि ज्ञान केन्द्रमा नभएका कारण समस्या भएको छ । आफूहरूसँग प्राविधिक ज्ञान नहुँदा यस खेतीमा आउने समस्याको समाधान आफैंले गर्न नसक्दा झनै समस्या भएको किसानहरूको भनाइ छ ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्