Logo

राष्ट्रिय टोलीबाट निकालिएका चार खेलाडीले साग खेल्न नपाउने, टोलीमा तीन नयाँ खेलाडी



काठमाडौं, ८ मंसिर । नेपाली फुटबल स्टार विमल घर्तीमगरसहित अनुशासनको कारबाहीमा परेका चार जना खेलाडी सागमा सहभागी हुन नपाउने भएका छन् । उनीहरुको स्थानमा चार खेलाडी प्रतिस्थापन भइसकेका छन् ।

एन्फाले विमल घर्तीमगर, अञ्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई भुटानमा भएको कुवेतविरुद्धको विश्वकप छनोट खेल्न जानु अघिल्लो दिन टोलीबाट हटाएको थियो । उनीहरुमाथि बन्द प्रशिक्षण छाडेर रात्री क्लब पुगेको भन्दै अनुशासनको कारबाही भएको छ । तर, एन्फाले खेलका लागि विदेशी भूमी जानु अघि राति हराएका खेलाडीको गतिविधिमा शंका गर्दै थप अनुसन्धान अगाडि बढाएको छ । उनीहरुमाथि खेल मिलेमतोको आशंका गरिएको छ ।

कारबाहीमा परेका चार खेलाडीको स्थानमा राजेश परियार, प्रिजन तामाङ, राजीव लोप्चाङ र सुवास गुरुङलाई समावेश गरिएको छ । सुवासलाई कुवेतविरुद्धको खेलमा पनि खेलाइएको थियो ।

नयाँ खेलाडी सहभागी गराइसकिएकाले चार जनाले देशभित्र हुने साग खेलकुदमा सहभागिता जनाउन नपाउने भएका छन् । उनीहरुले ऐतिहासिक अवसर गुमाएका छन् ।

एन्फाले थप अनुसन्धानपछि चार खेलाडीमाथि कस्तो कारबाही गर्ने टुंगो लगाउनेछ । उनीहरुमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot