Logo

चौथो पटक डायलासिस गरेर प्रधानमन्‍त्री बालुवाटारमा



काठमाडौं, ९ मंसिर । मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ । उनको चौथो पटक आइतबार ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको छ ।

चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्रीको शरीरबाट हानिकारक तत्व फाल्नका लागि मिर्गौलाको कार्यक्षमता चुस्त राख्नुपर्ने हुन्छ । त्यसका लागि दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रत्यारोपण नै उपयुक्त भएको निष्कर्ष उपचारमा संलग्न चिकित्सकले निकालेका छन् । यसका लागि स्वदेशी र विदेशी चिकित्सकसँगको परामर्श जारी राखिएको एक चिकित्सकले बताए ।

ग्रान्डी अस्पतालका निर्देशक डा। चक्रराज पाण्डले आइतबार अपराह्न अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई डायलासिसपछि डिस्चार्ज गरिएको जानकारी दिए । ‘प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि चौथो पटक डायलासिस भएको छ’, उनले अन्नपूर्णसँग भने, ‘उहाँले आराम महसुस गर्नुभएपछि हामीले अस्पतालबाट डिस्चार्ज गरेका छौँ ।’ प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। दिव्या सिंह शाहले नियमित डायलासिस गराउने वा प्रत्यारोपणबारे टुंगो लागिनसकेको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूका लागि जे गर्दा उपयुक्त हुन्छ, त्यही गर्ने हो । अहिले नियमित डायलासिस गरिराखिएको छ । पछि प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।’

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न अर्का चिकित्सकले दीर्घकालीन समस्या समाधानका लागि प्रत्यारोपण गर्नुपर्ने बताए । ‘मिर्गौलाले शरीरमा रगत र क्याल्सियम बनाउने तत्वहरू उत्पादन गर्छ । मिर्गौला पूर्णरूपमा फेल भएपछि डायलासिस गरे पनि शरीरमा रगत र क्याल्सियमको मात्रा बढ्दैन । क्याल्सियमको समस्या कमी हुन नदिन र रक्तअल्पताको समस्याबाट जोगिन पनि प्रत्यारोपण उपयुक्त विकल्प हो । डायलासिस त अस्थायी मात्र हो’, ती चिकित्सकले भने ।

प्रधानमन्‍त्री ओली डायलासिसका लागि ग्राण्डी अस्पतालमा
अहिले प्रधानमन्त्री ओलीलाई असहज महसुस भए मात्र डायलाइसिस गरिँदै आएको छ । मिर्गौला पूर्णरूपमा फेल भएपछि सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मिर्गौलाले काम गरिरहे पनि सुधारोन्मुख अवस्थाबारे सूक्ष्म ढंगले निगरानी भइरहेको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आइतबार स्वास्थ्य परीक्षणका साथै डायलासिसपछि बालुवाटार फर्किएको जानकारी दिए । ‘मिर्गौला प्रत्यारोपणबारे कुनै जानकारी छैन’, उनले भने । नियमित डायलासिसलाई निरन्तरता दिने कि मिर्गौला प्रत्यारोपण गर्नेमा चिकित्सक परामर्शमै केन्द्रित छन् । प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो । मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस गरिन्छ ।

कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ । गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस गरिएको थियो

मिर्गौलाको कार्यक्षमतामा सुधार देखिएपछि सचिवालय र मन्त्रिपरिषद्का काम कारबाही एवं बैठकमा उनी सक्रिय छन् । २५ दिनको अवधिमा चौथो पटक डायलासिस गरिएको छ । ०६४ सालमा उनको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् । गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो । प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो । १२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको डा। शाहले जानकारी दिइन् । ओलीको मिर्गौला प्रत्यारोपण गर्नुपरेको अवस्थामा स्वदेश वा विदेशमा कहाँ गर्ने भन्ने विषय पनि छलफलमै सीमित छ । ‘नियमित डायलासिस गर्ने कि प्रत्यारोपणमा जाने भन्ने टुंगो लागेको छैन’, डा।शाहले भनिन् । उपनिर्वाचनलगत्तै नियमित डायलासिस वा प्रत्यारोपणबारे निर्णय लिइने स्रोतले जनाएको छ ।

मंसिर १४ को उपनिर्वाचन सकिएपछि उपचारका लागि तय हुने प्रधानमन्त्री ओलीनिकट स्रोतले बताएको छ । हालै अमेरिकामा आयोजित एक कार्यक्रममा भाग लिएर फर्केकी डा।शाहले प्रत्यारोपणका लागि अमेरिका जाने सन्दर्भमा अनभिज्ञता जनाइन् । ‘निजी कार्यक्रमका सिलसिलामा गएकी थिएँ । प्रत्यारोपणको विषयलाई लिएर गएकी होइन’, उनले प्रस्ट्याइन् ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्