Logo

भारतीय नम्बरका टेम्पु रोक्न



काठमाडौँ, ९ मंसिर । एक दशकदेखी निर्वाध रुपमा गौर बजारमा सञ्चालन हुँदै आएका भारतीय नम्बर प्लेटका तीनपांग्रे टेम्पु नियन्त्रण गर्न उच्च अदालतले आदेश दिएको छ। तत्कालीन रौतहटका प्रमुख जिल्ला अधिकारी डा। कमलेसकुमार सिन्हाले २०६६ चैत १३ गते उनकैै अध्यक्षतामा जिल्लामा सर्वपक्षीय बैठक राखेर भारतीय नम्बरका टेम्पोलाई भन्सार नतिरी गौर बजारमा सञ्चालन गर्न अनुमती दिएका थिए। त्यसयता सबै प्रजिअले सो निर्णयलाई म्याद थप गर्दै टेम्पो सञ्चालन गर्न अनुमती दिँदै आएका थिए।

पछिल्लो पटक २०७५ पुस ३ गते जिल्ला प्रशासन कार्यालयको सूचनाको विषयमा अदालतले आदेश दिएको हो। जिल्ला प्रशासन कार्यालयले नै यस्तो निर्णय गरेपछि गौरका टांगा व्यवसायीले विरोध जनाउँदै आएका थिए। भारतको बिहार राज्यको बैरगनियादेखी रौतहट सदरमुकाम गौरसम्म सञ्चालन हुँदै आएका भारतीय नम्बरका तीनपांग्रे सवारीसाधन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटलाई आदेश दिएको हो। नियम कानूनलाई बेवास्ता गरी व्यवसायीले नेपालको गौर र भारतको बैरगनिया बजारसम्म भारतीय नम्बर प्लेटका दर्जनौं टेक्पो दैनिक चल्ने गरेका छन्। भन्सार नियमानुसार अन्य देशमा दर्ता भएका सवारीसाधन भाडा लिने प्रयोजनमा सञ्चालन गर्न नपाइने नियम छ। नेपालका व्यवसायीको तर्फबाट वीरगञ्ज महानगर—१६ लक्ष्मी मोटर्स प्रालीका सञ्चालक अरुण कुश्वाहाले जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जमा अन्तरिम आदेशका लागि निवेदन दिएका थिए।

न्यायधिशद्धय सत्यमोहन जोशी थारु र विरबहादुर डाँगीको संयुक्त इजलाशले मंसिर ३ गते निवेदनको टुंगो नलागेसम्म भारतीय नम्बरका सवारीसाधन व्यवसायिक प्रयोजनका लागी सञ्चालनमा रोक लगाउन आदेश दिएको हो। विदेशी नम्बर प्लेटको टेम्पुलाई व्यवसायीक रुपमा चलाउन यातायात व्यवस्था ऐन, २०४९ बमोजिम रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट मिति २०७५ पुस ३ गतेमा सुचना प्रकाशित गरिएको थियो। आर्थिक ऐन २०७६ को अनुसूची १ को दफा १२ को उपदफा ९ख० बाहेकको अवस्थामा विदेशी नम्बर प्लेटका टेम्पुलाई नेपाली नम्बर प्लेटका सवारीसाधन सरह सञ्चालन गर्न, रात्री पार्किग गर्न गराउन नदिनु भनि विपक्षीको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ ९१० बमोजिम अन्तरिम आदेश जारी गरेको हो।

भारतको बैरगनियाबाट गौर चल्ने यात्रुबाहक टेम्पोका अधिकाश चालकसँग सवारी चालक अनुमती पत्र समेत नभएको पाइएको छ। नेपाल भारत सिमा बजारमा चल्ने अधिकाश टेम्पु नेपाली नागरिकले खरिद गरी चलाउने गरेका छन्। भारतीय नम्बरका यात्रुवाहक टेम्पुलाई व्यवस्थित गर्न प्रशासकीय अधिकृत शशिमोहन दासको संयोजकत्वमा यातायात कार्यालयका इन्जिनियर, जिल्ला ट्राफिक प्रहरी प्रमुख, व्यवसायीको समिति बनाइएको छ। वर्षौंंदेखी भारतीय नम्बर प्लेटका टेम्पु सञ्चालन भइरहेको पाइएकाले यो समस्या समाधान गर्न समिति गठन गरीएको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। समितिले बुझाएको प्रतिवेदन अध्ययन गरी समस्या समाधान गरिने प्रजिअ थापाले बताए।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्