Logo

बीमा अभिकर्तामा बढ्यो आकर्षण



काठमाडौं, ९ मंसिर । बीमा कम्पनीको मेरुदण्डको रुपमा लिईने बिमा अभिकर्तामा आकर्षण बढ्दै गएको छ। बिमा अभिकर्ताको अनुमति पत्र लिन सामान्य लेखपढ भए पुग्ने, घरायसी कामसँगै फुर्सदको समयमा बीमा पोलिसी बिक्री गर्दा आकर्षक ‘कमिसन’ आउने हुने भएकाले युवायुवतीहरु यसतर्फ लालायित भएको सम्बन्धित व्यवसायीले बताएका छन्।

बिमा समितिको एक तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०७६ र ७७ को पहिलो तीन महिनाको अवधिमा ३० हजार दुई सय ५९ जना बीमा अभिकर्ता जीवन बीमा व्यवसायमा प्रवेश गरेका छन्। गत आवको सोही अवधिमामा २२ हजार सात सय ६२ जनाले बिमा अभिकर्ताको अनुमित लिएका बीमा समितिले जनाएको छ। समितिका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमासम्म कूल ८७ हजार नौ सय १७ जनाले बीमा अभिकर्ताको अनुमति लिएका छन्। समितिका अनुसार बिमा अभिकर्ताको अनुमति पत्र लिन प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने, बिमा अभिकर्ता सम्बन्धी तालिम लिएको हुनुपर्ने र पाँच सय रुपैयाँको भौचर पेस गर्नुपर्ने प्रावधान रहेको छ। निवेदकले ४० घण्टाको बिमा अभिकर्ताको तालिम लिएको हुनुपर्ने कानूनी व्यवस्था रहेको छ।

बिमा समितिका अनुसार यसअघि बिमा अभिकर्ताको तालिम बिमा समितिले नै दिँदै आएकामा गत वर्षदेखि सम्बन्धित बीमा कम्पनीले तालिम दिनुपर्ने व्यवस्था गरिएको हो। बिमा अभिकर्तालाई दिने कमिसन रकम फरक फरक भए पनि कूल प्रिमियम रकमको १८ देखि २० प्रतिशत कमिसन पाउँछन्। कूल बिमा अभिकर्ताको ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला रहेको समितिले जनाएको छ।

यसअघि बिमा कम्पनीको संख्या कम भएकाले बिमा समितिले तालिम दिने गरेको थियो तर, जीवन तथा निर्जीवन बीमा कम्पनीको संख्या बढ्दै गएकाले सम्बन्धित कम्पनीले तालिम दिन समितिले निर्देशन दिएको थियो। हाल मुलुकभर २० वटा जीवन र १९ वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन्। बिमा कम्पनी सञ्चालनका लागि बीमा अमिकर्ता मेरुदण्ड भएकाले बजारमा बीमा अभिकर्ता थपिनु पर्ने एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले बताए। ‘हाल कम्पनीमा करिब सात हजार बिमा अभिकर्ता कार्यरत छन्,’ उनले भने, ‘रातदिन लगाएर सर्वसाधारणको बिमा गर्ने भएकाले आगामी दिनमा थप बीमा अभिकर्ता नियुक्त गर्ने योजनामा छांै।’ अभिकर्ता बिना बीमा व्यवसाय सम्भव नभएको उनले बताए।

बिमा समितिका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा युनियन लाइफ इन्स्यारेन्स कम्पनीमा सबैभन्दा बढी बीमा अभिकर्ता आवद्ध भएका छन्। कम्पनीमा ६ हजार चार सय ४१ जना बीमा अभिकर्ता आवद्ध भएका छन्। त्यसैगरी, नेपाल लाइफ इन्स्यारेन्समा तीन हजार ६ सय ६९ जना बीमा अभिकर्ता आवद्ध छन्। सूर्या लाइफ इन्स्योरेन्समा एक हजार नौ सय ५७, एसियन लाइफ इन्स्योरेन्समा एक हजार नौ सय ४३, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानमा एक सय ९२ जनाले बीमा अभिकर्ता अनुमति लिएको बीमा समितिले जनाएको छ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्