Logo

अत्याधुुनिक प्रविधितर्फ किसान



काठमाडौँ, ९ मंसिर । प्रदेश ५ मा धेरै खेती हुने जिल्लामध्ये अग्रपङ्क्तिमा आउने बाँके र बर्दियाका किसान पछिल्लो समयमा आएर अत्याधुनिक प्रविधितर्फ बढी आकर्षित हुन थालेका छन् । किसान पछिल्ला दिनमा अत्याधुनिक प्रविधितर्फ आकर्षित हँुदै गएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताए ।

केही समय अगाडिसम्म किसानद्वारा गहुँमा थ्रेसरको प्रयोगलाई अत्याधिक रुचाइएको जनाउँदै उहाँले तर अहिले त्योभन्दा पनि अब्बल प्रविधिको धमाधम प्रयोग भइरहेको बताए। धान र गहुँमा मात्र होइन, अन्य खेतीपातीमा पनि अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको प्रमुख ढकालको भनाइ छ । बाँके र बर्दियाका धेरै किसानले यसपटक धान काट्ने, झाँट्ने काम पहिलेभन्दा फरक तरिकाले गरेका छन् । किसानले यसपटक दिनहुँ मान्छे लगाएर धान काटेनन् भने मान्छेले झाँट्नु पनि परेन । कम्बाइन हारवेस्टर मेसिनको प्रयोगले चार दिन लाग्ने सबै काम केहीबेरमै सिध्याइदिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाँके र बर्दिया जिल्लाका दर्जनौँ ठाउँमा कम्बाइन हारवेस्टर नामक अत्याधुनिक मेसिनबाट धान काट्ने र त्यसको व्यवस्थापन गर्ने काम धमाधम भइरहेको सो कार्यालयको भनाइ छ । बाँके नौबस्ताका किसान राजेन्द्र चौधरीले अहिले त अत्याधुनिक प्रविधिले सबै कामलाई निकै सहज र सरल बनाइदिएको बताए। उनले कम्बाइन हारवेस्टरको प्रयोग गरेर आफूहरू दङ्ग परेको बताए। सोही प्रकारले बाँकेको कम्दीका अधिकांश किसानले पनि कम्बाइन हारवेस्टरलगायत अन्य अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको किसान रामप्रसाद बर्माले बताए। उनले प्रविधिको प्रयोगले खेतीमा निकै सहज भएको जनाएका थिए ।

सोही प्रकारले बर्दियाको गुलरिया नगरपालिका खैरापुरका अधिकांश कृषकले पनि यसपटक धान काट्ने, झाँट्ने काम फरक तरिकाले गरेको स्थानीय किसान दिलबहादुर थारूले बताए । पहिला जस्तो दुःख छैन अहिले । मेसिनले नै सबै काम एकदम कम समयमा नै गर्दिन्छ, समय र पैसा दुवैको बचत भएको छ, किसान थारूले भने। बाँसगढी नगरपालिका बबई चेपाङका झुपलाल न्यौपानेले पनि बबई नदीको किनारमा आधुनिक प्रविधि अपनाएर १५ बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गरेको छ । १५ बिघामा थोपा सिँचाइ प्रविधि जडान गरेर गरिएको केरा खेती निकै फस्टाएको छ ।१० कट्ठ क्षेत्रफलबाट सुरु गरिएको व्यवसाय बढेर १५ बिघासम्म पुगेको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्