Logo

भिडौडा भीर छिचोलियो



काठमाडौं, मंसिर ९ । भिगौडा, मङ्सिर ९ गते । कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिकामा पर्ने भिगौडा भीरलाई छिचोल्ने कार्य सम्पन्न भएको छ । भीर छिचोल्नका लागि विस्फोट गर्ने कार्य र मेसिनबाट निर्माण गर्र्ने कार्य एकसाथ गरिएपछि सो भीर छिचोल्न सकिएको हो ।

उक्त क्षेत्र कर्णाली करिडोरका लागि कडा चट्टानी भू–भाग भएको कारण असजिलो क्षेत्रका रूपमा हेरिएको उक्त भीर अहिले सडकमा परिणत भएको छ । यसअघि सोही भीरमा घोरेटो बाटो हुँदा बटुवाहरू डराई डराई हिँडिरहेको अवस्थामा अहिले भने भीर छिचोलेर सडकमा परिणत भएपछि सबैलाई सहज भएको बटुवा नरजन तामाङले बताए । यो विकास निर्माणको नमुना काम पनि भएको उनको भनाइ छ । इच्छाशक्ति भएकै कारण पहाडलाई सडकमा परिणत गर्न सम्भव भएको हो ।

निक्कै कडा चट्टान भएका कारण सो क्षेत्रमा सडक निर्माण गर्न कठिन हुने सबैतिर चर्चा भइरहेको अवस्थामा सिमकोट हिल्सा सडक आयोजनाको जिम्मामा रहेको खार्पु सुनखाडा खण्डको सडकमा सो भीर पर्छ । १५० मिटर लम्बाइ रहेको चट्टान फुटाउन तीन महिना लागेको आयोजनामा फिल्ड हेर्ने सब–इन्जिनियर अभिषेक राईले बताए ।

नौ देखि २१ मिटर अग्लो भीरलाई फुटाएर सडकका रूपमा झारिएको र अझै केही झार्न बाँकी छ तर चट्टान फुटाएर बनेको सडकमा गाडी गुडाउन सकिने अवस्था छ । छ दशमलव सात मिटर चौडा सडक तय भएको छ । यसका लागि तीन महिनामा तीन हजारभन्दा बढी राउन्ड होल खोपेर विस्फोट गरिएको सब–इन्जिनियर राईले बताउनुभयो । यसबाट १० हजार घनमिटर चट्टान फुटाउने कार्य सम्पन्न भएको छ । भीरमा अझै केही विस्फोटको काम बाँकी हुँदा हालसम्म साढे २१ लाख रुपियाँ भुक्तानी गरिएको छ ।

अहिले विस्फोटक पदार्थको अभावमा केही बाँकी काम रोकिएको छ । यसका लागि आयोजनाका योजना प्रमुख इन्जिनियर शशाङ्क मिश्र आवश्यक पहल गर्न काठमाडौँमा रहनुभएको छ । भीर फुटाउने जिम्मा पाएको निर्माण कम्पनी पीएच क्यारेभान कंग्री जेभीका स्थानीय प्रतिनिधि कुलबहादुर लामाले कर्णाली नदीको सहायक दोजाम नदीमा पुल निर्माण भएको भए भिगौडाको चट्टानी भाग फुटेर सडकमा परिणत भएको स्थानमा गाडी गुड्ने थियो तर सो पुल नहुँदा सडक बनेर पनि गाडी गुड्न नपाएको उनले बताए । आजको गोरखापत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्