Logo

गैर नेपालीलाई नागरिकता दिलाउने पूर्व सहायक सिडिओमाथि मुद्दा



काठमाडौं, ९ मंसिर । नक्कली नागरिकता प्रमाणपत्र दिएको अभियोगमा पर्साका तत्कालिन सहायक सिडिओ दुर्गादत्त पौडेलसहित तत्कालिन वरिष्ठ अधिकारीहरुविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार सोमबार उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

विशेष अदालतमा पौडेलसहित वीरगञ्ज महानगरपालिका वडा नं। २ का वडा अध्यक्ष शेष अव्वास, जिल्ला प्रशासन कार्यालय पर्साका नायव सुव्वा चन्द्रदेव ठाकुर र प्रशासकीय अधिकृत सदनकुमार कर्णको नक्कली नागरिकता दिलाउने संलग्नता देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साबाट गलत कागजातको आधारमा गैरनेपालीलाई वंशजको आधारमा नागरिकता प्रमाणपत्र दिएको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा वीरगञ्ज उपमहानगरपालिकाको बसाइसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्चाएको, वीरगञ्ज महानगरपालिका वडा नं. २ को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. २ बस्ने अजहर हुसेन र आरिफ हुसेनको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्य गरेको उल्लेख छ ।

जनप्रतिनिधि, कर्मचारी सहित घटनामा संलग्न आरिफ हुसेन, सवरुन खातुन र शेष अव्वासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्