Logo

दुई पत्नीको सहयोगमा बैंकका हाकिमले ३४ करोड हिनामिना गरेपछि…



काठमाडौं, ९ मंसिर । कृषि विकास बैंकको स्वयम्भु शाखामा नौं महिनाभित्र ३४ करोड हिनामिना भयो । यो घटनाबारे पाँच वर्षपछि मात्र यथार्थ जानकारीमा आयो । अनुसन्धानपछि खतरनाक तथ्यहरु पत्ता लागेको छ ।

बैंकका हाकिम नै फर्जी देखिए । उनले घर परिवार, इष्टमित्र र साथीभाई समेतलाई फर्जी काममा प्रयोग गरेर विलासी जीवन बिताएको भेटियो । घर, गाडी र ऐयासी जीवनयापन पत्ता लाग्यो । दुई पत्नीलाई समेत किर्ते काममा प्रयोग गरेका थिए ।

घटनामा संलग्न मुख्य अभियुक्त हुन् बैंकका शाखा अधिकृत केदारप्रसाद गौतम । यसमा शाखा प्रबन्धक भरतबहादुर बानियाँलगायत संलग्न पाइए। गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ लाख ९३ हजार रुपैयाँ रकम निकाली बैंकलाई हानिनोक्सानी पुर्याएको भेटियो ।

शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको अभियोग छ ।

शाखा अधिकृत केदारप्रसाद गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य विभिन्न बैंकहरुबाट इलेक्ट्रिोनिक चेक क्लियरिङ मार्फत भुक्तानी लिने गरेका थिए । त्यसका लागि नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको, योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैंकिङ प्रणालीको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्याउने र बैंकलाई हानिनोक्सानी पुर्याउने कार्य गरेको भेटियो ।

गौतम स्वयं तेजबहादुर थापा रहेको पत्ता लाग्यो । सम्झना पोखरेल गौतमले आफ्ना पति तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको, गैरकानूनी तबरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको, आफ्नो नाममा भएका जग्गा जमिन सबै बेची अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने गरेको भेटियो । उनीहरु भारततर्फ नै बसाइ९सराइ गरी गएको, केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदा९हुँदै उक्त कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा भूमिका खेले ।

केदारप्रसाद गौतमले बैंकिङ्क कसुर गरी प्राप्त रकमबाट गाडी खरिद गरेको, सुमन भुजेल जग्गाको कारोवारमा संलग्न रहेको, सन्दीप गुप्ताले केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउन समेत सहयोग गरेको पत्ता लाग्यो । सूर्यबहादुर लिम्बुले वसन्त राई भनी किर्ते नागरिकता बनाई केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउनसमेत सहयोग गरेको पत्ता लाग्यो।

कृष्णहरि थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार केदारप्रसाद गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिहरुको नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्नका लागि भूमिका निर्वाह गरेको अनुसन्धानबाट खुल्यो । भारतमा बसी उक्त रकमको व्यवस्थापनमा प्रत्यक्षतः संलग्न रही फरार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यी प्रमाणका आधारमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्