Logo

वरिष्ठ गुप्तचर अधिकारीलाई नै ज्यानमार्ने धम्की आएपछि



कोलम्बो,मंसिर ९ । श्रीलङ्कामा उच्च दर्जाका अधिकारीहरूको मुद्दा अनुसन्धान गर्दै आएका अधिकारीलाई ‘ज्यान मार्ने धम्की’ आएको भन्दै वरिष्ठ गुप्तचर अधिकृत भागेको प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो समय सरकारमा आएको परिवर्तनसँगै गुप्तचरका अनुसन्धान अधिकृत निशान्त सिल्भाले स्वीजरल्याण्डसमक्ष शरण मागेको सञ्चारमाध्यमहरूले बताएका छन् ।

“सिल्भाले आफू कार्यरत राष्ट्रिय अपराध अनुसन्धान विभागका उच्च अधिकारीलाई सूचना नदिइकन नै आइतबार श्रीलङ्का छोडेका छन्,” प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“यी अधिकृतमाथि विगत साढे चार बर्षको अवधिमा विभिन्न मुद्दामा पूर्वाग्रही बनेका आरोपहरू लागेका छन्,” प्रहरीले सिल्भाको नाम उल्लेख नगरिकन जारी विज्ञप्तिमा भनिएको छ ।

यही नोभेम्बर १६ मा भएको निर्वाचनबाट श्रीलङ्काको राष्ट्रपतिमा गोतावाय राजापाक्ष निर्वा्चित भएपछि सिल्भालाई ज्यान लिने धम्की आएको तर यो धम्की कसबाट आएको भन्ने प्रस्ट नगरिएको ‘द डेली मिरर’ पत्रिकाले लेखेको छ ।

सिल्भाले पूर्व राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री महिन्दा राजापाक्षको कार्यकालमा भएका भनिएका उच्च ओहोदाका अधिकारीको सम्लग्नतामा भएका हत्या र भ्रष्टाचार मुद्दा हेरेको र त्यसमा पूवाग्रह देखाएको आरोप लगाइने गरेको छ ।

सिल्भालाई वर्तमान् प्रधानमन्त्री महिन्दा राजापाक्षले गत बर्ष छोटो समय प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि सिआडीको जिम्मेवारीबाट हटाइएको थियो तर राजापाक्षको बहिर्गमनपछि पुनः जिम्मेवारीमा ल्याइएको थियो ।

सिल्भाले सन् २००९ मा पत्रकार तथा सम्पादक लासान्था मनिलाल विक्रमातुङ्घेको हत्या लगायतका मुद्दाहरू हेर्नुभएको थियो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्