Logo

वीरको जग्गा व्यक्तिको नाममा प्रतिवेदन गुपचुप राखी फेरि छानबिन समिति



काठमाडौं, १० मंसिर । वीर अस्पतालको गुठीको नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएकोे ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० ले अर्को समिति गठन गरेको छ। तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन समितिले बुझाएको प्रतिवेदनमा अस्पताल गुठीको नाममा मुलुकभर रहेको करिब १४ हजार रोपनीमध्ये काठमाडौं उपत्यकाभित्र महत्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा रहेको उल्लेख छ। न्याम्सले त्यो प्रतिवेदन कार्यान्वयनमा नलगी त्यही प्रकृतिको काम गर्न अर्को समिति गठन गरेको हो। न्याम्सका उपकुलपति डिएन साहले वीर अस्पताल गुठीको नाममा रहेको जग्गाको वास्तविक अवस्था बुझ्न रेक्टर सुबोध अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए। उनका अनुसार समितिले काम थालिसकेको छ।

के थियो प्रतिवेदनमा 

मानन्धर नेतृत्वमा गठित समितिले २०६७ साल साउन २४ गते वीर अस्पताल प्रशासनलाई बुझाएको प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्र करिब डेढ सय रोपनी र उपत्यका बाहिर ५० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा रहेको औंल्याइएको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरका नुवाकोट, मकवानपुरलगायतका जिल्लामा अस्पताल गुठीको नाममा रहेको जग्गा व्यक्तिको कब्जामा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ। बाँकेमा रहेको करिब साढे १३ हजार रोपनी जग्गाको अवस्थाबारे भने प्रतिवेदनमा केही खुलाइएको छैन। त्यो जग्गा खोज्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० ले विशेष कार्यदल गठन गर्नुपर्ने र अख्तियारलगायतका निकायको पनि साथ लिनुपर्ने सुझाव आएकाले त्यही अनुसार अघि बढेको अस्पताल प्रशासनको भनाइ छ।

प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्र वीर अस्पताल गुठीअन्तर्गत रहेको करिब डेढ सय रोपनी र उपत्यका बाहिर ५० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा गएको औंल्याइएको छ। एक सय ३० वर्षअगाडि स्थापना गरिएको मुलुककै जेठो स्वास्थ्य संस्था वीर अस्पताल स्थापना गर्दा त्यसलाई व्यवस्थित र दिगो ढंगले सञ्चालन गर्न वीरशमशेरले वीर अस्पताल गुठी स्थापना गरेका थिए। वीर अस्पतालका नाममा उनले मुलुकभर करिब १४ हजार रोपनी जग्गा राखेका थिए। त्यसैको आम्दानीबाट बिरामीको हेरचाह तथा उपचार र स्वाथ्यकर्मीलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको जानकार बताउँछन्। समयक्रमसँगै त्यो प्रचलन हट्दै गएको र चिकित्सकलाई पनि राज्यबाट नै पारिश्रमिकलगायतका सुविधा उपलब्ध हुन थालेपछि अस्पतालको जग्गा बेवारिसे अवस्थामा पुगेको वीर अस्पतालका पुराना कर्मचारीको भनाइ छ। अस्पतालकै पदाधिकारीलाई समेत अस्पताल गुठीको नाममा केकति जग्गा छ भन्ने जानकारी नहुँदा भूमाफियाले फाइदा उठाएको सरोकारवाला बताउँछन्। काठमाडौं, भक्तपुर, ललितपुर, महोत्तरी, नुवाकोट, मकवानपुर, रुपन्देही, बाँकेसहितका जिल्लामा वीर अस्पताल गुठीको नाममा जग्गाा रहेको उक्त प्रतिवेदनबाट देखिन्छ। काठमाडौं उपत्यकामा अस्पताल गुठीको नाममा रहेको करिब पाँच सय रोपनी जग्गामध्ये डेढ सय रोपनी व्यक्तिको नाममा गइसकेको प्रतिवेदनमा उल्लेख छ। सबैभन्दा बढी भक्तपुरको दिव्येश्वरी गाविस ९हाल मध्यपुर ठिमी नगरपालिका० मा वीर अस्पताल गुठीको नाममा रहेको एक सय रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा गइसकेको प्रतिवेदनबाट खुल्न आएको छ।

प्रतिवेदनका अनुसार गुठीको स्वामित्वमा रहेका जग्गा करिब एक सय ६० जना व्यक्तिको नाममा नामसारी भएको छ। भक्तपुर निलवाराही गाविस ९हाल मध्यपुर ठिमी नगरपालिका० मा रहेको करिब ११ रोपनी जग्गा, भक्तपुरकै झौखेल गाविस वडा नं। ८ ९हाल चाँगुनारायण नगरपालिका० मा रहेको करिब साढे ५ रोपनी जग्गा, भक्तपुरकै बालकोट गाविस वडा नं। ६ ९हाल सूर्यविनायक नगरपालिका० को करिब दुई रोपनी जग्गा र भक्तपुर नगरपालिकामा रहेको करिब दुई रोपनी जग्गा दर्जनौं व्यक्तिले उपभोग गरिरहेको देखिन्छ। काठमाडौं महानगरपालिकाको भीमसेनगोलामा वीर अस्पताल गुठीको नाममा रहेको करिब तीन रोपनी जग्गा पनि व्यक्तिका नाममा भएको प्रतिवेदनमा उल्लेख छ। ललितपुर जिल्लाको इमाडोल गाविस वडा नं। १ ९हाल महालक्ष्मी नगरपालिका० मा रहेको वीर अस्पताल गुठीको एक रोपनी जग्गा र ललितपुरकै धापाखेल गाविस ९हाल ललितपुर महानगरपालिका० मा रहेको दुई रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा रहेको देखिन्छ। ललितपुर नगरपालिका वाड नं। २ ९हाल महानगरपालिका० मा रहेको १२ रोपनी जग्गा र ललितपुरकै टीकाथलीमा रहको दुई रोपनी जग्गा पनि व्यक्तिको नाममा गइसकेको प्रतिवेदनमा उल्लेख छ।

नुवाकोट जिल्लामा रहेको करिब २५ रोपनी जग्गा व्यक्तिको नाममा छ भने मकवानपुरको हेटौंडामा रहेको करिब चार रोपनी जग्गा हेटौंडा अस्पतालको नाममा गएको देखाइएको छ। वीर अस्पताल गुठीका नाममा काठमाडौं महाबौद्धमा रहेको ३५ रोपनी जग्गा भने वीर अस्पताल आफैंले उपभोग गरिरहेको छ। प्रतिवेदनअनुसार बाँकेमा अस्पतालका नाममा एक हजार बिघा जग्गा छ। नेपालगन्जको भोजेपुर मौजामा साढे ६३ बिघा र वनधुसरा मौजामा ७८ बिघा १२ कट्ठा रहेको उल्लेख छ भने ८ सय ५८ बिघा जग्गाको मौजा खुलाइएको छैन। त्यो जग्गाको अवस्था के छ भन्ने उक्त प्रतिवेदनले प्रस्ट पार्न सकेको छैन। महोत्तरी र रुपन्देही जिल्लामा समेत जग्गा रहेको भनेर प्रतिवेदनमा समेटिएको भए तापनि कति जग्गा छ भन्ने खुल्दैन। काठमाडौं उपत्यकाबाहिर रहेको अधिकांश जग्गााको अवस्था केकस्तो छ भन्ने विषयमा छानबिन समितिको प्रतिवेदन मौन छ।

नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्