Logo

जेल जान तयार हुन शिक्षामन्त्रीको चेतावनी



काठमाडौं,मंसिर १० । निजी मेडिकल कलेजलाई विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले दिएको समयसीमाको मंगलबार अन्तिम दिन हो। शिक्षा मन्त्रालयले कात्तिक २६ गते सार्वजनिक सूचना प्रकाशन गरी निजी मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग गैरकानुनी रुपमा असुलेको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न १५ दिने अल्टिमेटम दिएको थियो।

तर निजी कलेजहरु सरकारी निर्देशन मान्नुको साटो उल्टै विद्यार्थी र तिनका अभिभावकलाई धम्की दिएरु तह लगाउनतर्फ लागेका छन्। कतिपय कलेजले सीमापारिबाट सुटर झिकाएर हत्या गर्नेसम्मको धम्की विद्यार्थीलाई दिएको नेकपा निकट अनेरास्ववियुका संयोजक ऐन महरले बताए।

१५ दिने समय सीमा सकिनु अघिल्लो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी कलेज सञ्चालकसँग अतिरिक्त शुल्क फिर्ता गराउन दिनभरि सक्रिय रहे। मन्त्री पोखरेलले बिहान ८ः३० बजे त्रिभुवन विश्वविद्यालयका उपकुलपति, काठमाडौं विश्वविद्यालयका उपकुलपति, डिन, मेडिकल काउन्सिलका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष , सदस्यसचिवसँग मेडिकल कलेजको बदमासीबारे छलफल गरेका थिए।

‘मन्त्रीले उपकुलपति तथा डिनहरुलाई तोकेभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गराउन कडा निर्देशन दिएको तथा दिउँसो नेकपा अनेरास्ववियु र नेवि संघका विद्यार्थी नेतासँग छलफल गरेका थिए।

‘तपाईं कलेज सञ्चालकहरु डाक्टरसाहेब पनि हुनुहुन्छ। विद्यार्थीसँग कानुनविपरीत गएर अतिरिक्त शुल्क असुल गर्नुभएको छ। निजी मेडिकल कलेजहरुले १५ दिनभित्र अतिरिक्त शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउन गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छु,’ मन्त्रीका स्वकीय सचिव पूरण केसीले मन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘तोकिएको सीमाभित्रै शुल्क फिर्ता वा समायोजन गर्नुभएन भने तपाईंहरुलाई गृह प्रशासनले पत्र काट्ने, धरपकड गर्ने र जेल हाल्ने गर्छ। यसको परिणामको जिम्मेवार तपाईंहरु आफैं हुनुपर्ने छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्