Logo

यादवले सम्हाले कानुन मन्त्रालय



काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय हेरफेर गरेको चार दिनपछि सोमबार उपप्रधानमन्त्री उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सल्लाह नगरी मन्त्रालय हरेफेर गरिएको भन्दै समाजवादी पार्टीले औपचारिक रूपमा आपत्ति जनाए पनि पार्टी अध्यक्षसमेत रहेका यादवले नयाँ तोकिएको मन्त्रालयको कार्यभार सम्हालेका हुन् । यसअघि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

पार्टीका अधिकांश नेताले सरकारबाट बाहिरिन सुझाए पनि यादवले संविधान संशोधनको मुद्दा अघि बढाउन र नेकपा–राजपाबीच हुन सक्ने गठबन्धन रोक्न तत्कालका लागि सरकार छाड्न नहुने विश्लेषणसहित नयाँ मन्त्रालय सम्हालेका हुन् । उनकै विश्लेषणका आधारमा समाजवादीको शनिबारको बैठकले सरकारमै रहेर नेकपासँग वार्ता गर्ने निर्णय गरेको थियो । आफ्नै निजी गाडी चढेर मन्त्रालय गएका यादवले आफूसँग सल्लाह नगरी मन्त्रालय परिवर्तन गरेको विषयलाई त्यति महत्त्व दिएनन् । ‘परामर्श गरिराख्नुपर्दैन, यो सामान्य विषय हो, प्रधानमन्त्रीले गर्न सक्छन्,’ उनले हांँस्दै भने, ‘मन्त्रालयहरू हेरफेर गर्ने उनको अधिकार हो । अनुभवी नेता मन्त्री बनोस् भनेर यहाँ पठाएको हुन सक्छ । मिल्ने मन्त्रालयमा पठाइदिऊँ भनेर पनि हुन सक्छ । उनले बढी नै माया गरेको पनि हुन सक्छ ।’

अहिले नै सरकार छोडिहाल्ने निर्णय पार्टीले नगरेको उनले स्पष्ट पारे । आफूलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको विषयलाई उनले संविधान संशोधनसँग पनि जोड्न खोजे । समाजवादीले संविधान संशोधनका विषयमा सहमति गर्दै नेकपासँग सत्ता–सहयात्रा गरेकाले अब त्यो सहमति कार्यान्वयन गर्ने अवसर आएको उनले बताए । ‘संविधान संशोधन गर्ने विषयमा दुई वर्षअगाडि नै हस्ताक्षर भएको हो, अब कार्यान्वयन गर्ने बेला आएको छ,’ उनले भने । मन्त्रिपरिषद् हेरफेर भएका बेला भारतको नयाँदिल्लीमा रहेका यादव शुक्रबार साँझ स्वदेश फर्केका थिए । त्यसपछि तीन दिन उनी निजी गाडी चढेर पार्टी कार्यक्रममा हिँडे, मन्त्रालय गएनन् । निजी गाडीचढ्नुपर्नाको कारण पनि उनले कार्यभार सम्हाल्ने बेलामा स्पष्ट पारे । ‘निजी गाडी नै चढ्ने निर्णय गरेको होइन,’ उनले भने, ‘स्वास्थ्यको गाडी लगिहाल्यो । यता ९कानुन० को गाडी पाउन बाँकी छ । बीचको समयमा के गर्ने रु हिँडेर वा ट्याक्सी चढेर आउनुभन्दा आफ्नै गाडी चढेर आएँ । यो नराम्रो हो र ’

प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गर्दा अहिले समाजवादी पार्टीको हैसियत केही खुम्च्याइदिएका छन् । यसअघि दुई मन्त्री र एक राज्यमन्त्री थिए । राज्यमन्त्री सुरेन्द्र यादवको जिम्मेवारी खोसिएको छ । अब दुई जना मात्र मन्त्री छन् । त्यसमा पनि समाजवादीेले पाएको सहरी विकास मन्त्रालयमा नेकपाका राज्यमन्त्री लगेर राखिएको छ । यो अवस्थाले ओली सरकारमा यादवको अवस्था केही कमजोरजस्तो देखिएको छ । यही मूल्यांकन गरेर समाजवादी पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरूले सरकार छाड्नुपर्ने बताउँदै आएका छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्