Logo

एन्टिबायोटिकको गलत प्रयोगले जोखिम निम्त्याउँछ



काठमाडौं । के तपाईंले चिकित्सकसँगको परामर्शबिनै एन्टिबायोटिक औषधि सेवन त गर्नुभएको छैन ? यदि त्यसो हो भने सावधान ! चिकित्सकको सल्लाहबिना जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा स्वास्थ्यमा गम्भिर असर हुन सक्छ ।

पछिल्लो समय एन्टिबायोटिकको गलत प्रयोगको जोखिम बढ्दै गएको देखिएको छ । जथाभावी एन्टिबायोटिक प्रयोगका कारण कतिपय बिरामीमा औषधिले कामै नगर्ने स्थिति आउने गरेको चिकित्सक बताउँछन् ।

एन्टिबायोटिक ब्याक्टेरियाका कारण हुने संक्रमण या रोगलाई निको पार्न प्रयोग गरिने औषधिको समूह हो । चिकित्सकको प्रेस्क्रिप्सनबिना जथाभावी यसको प्रयोग गरेकै कारण सानासाना रोगसमेत लामो समयसम्म रहन सक्ने चिकित्सकको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहले एन्टिबायोटिकको दुरुपयोग बढेको भन्दै रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए ।

त्रिवि शिक्षण अस्पतालका क्लिनिकल फार्माक्लोजी डा. सतिशकुमार देवले एन्टिबायोटिक सेवन गर्न परिहाले यसको डोज पूरा गर्नुपर्ने बताउँछन् । उनले भने, ‘एन्टिबायोटिकको गलत प्रयोगले हामीले आफूलाई मात्र असर पु¥याएका छैनौं । भावी सन्ततिलाई समेत असर गरिरहेका छौं ।’

विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिबायोटिकले काम गर्न छाडेमा सन् २०५० पछि प्रतिवर्ष ब्याक्टेरियाका कारण हुने संक्रमणबाट विश्वमा १ करोड मानिसको मृत्यु हुने अनुमान छ ।

एन्टिबायोटिकको अल्प उपयोग, अतिउपयोग र दुरुपयोगले ब्याक्टेरियाले आफ्नो क्षमता बढाउँदै गएको पाइएको छ । एन्टिबायोटिकलाई चिकित्सकको सिफारिसबिना प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । तर, औषधि पसलबाट सहज रूपमा एन्टिबायोटिक बिक्री भइरहेको पाइएको छ ।

– चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक बेच्दै औषधि पसल

– ‘एन्टिबायोटिक’ को गलत प्रयोग अनुगमन निष्प्रभावी

औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीले एन्टिबायोटिकको दुरुपयोग बढेको बताए । उनले भने, ‘सामान्य संक्रमणमा पनि एन्टिबायोटिकको प्रयोग भइरहेको छ ।

डाक्टरको सल्लाहबमोजिम मात्रै यसको समुचित प्रयोग गर्नुपर्छ ।’चिकित्सकका अनुसार एन्टिबायोटिक औषधिले ब्याक्टेरियालाई नष्ट गर्न र ब्याक्टेरियाको वृद्धि हुने क्षमतामा ह्रास ल्याउने काम गर्छ । तर, एन्टिबायोटिक संक्रमण रोगविरुद्ध प्रयोग हुने महत्वपूर्ण औषधिसमेत हो ।

औषधि पसलेले एन्टिबायोटिक जथाभावी र बिरामीले आफूखुसी किनेर खाने गर्दा पछिल्लो समय जनस्वास्थ्यमा गम्भीर असर परिरहेको स्वास्थ्य विज्ञको भनाइ छ । विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रयोग हुँदा ब्याक्टेरियाले दिने प्रतिक्रियाबाट रेसिस्ट्यान्स हुने जनाएको छ ।

एन्टिबायोटिक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू

–एन्टिबायोटिक औषधि धेरै प्रकारका भएकाले सम्बन्धित रोगको परीक्षणबिना प्रयोग गर्नुहुँदैन ।
–चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक जथाभावी खानुहुँदैन
–संक्रमणको किसिम र अवस्था हेरेर मात्रै एन्टिबायोटिक प्रयोग गर्नु उचित मानिन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार जथाभावी एन्टिबायोटिक औषधि प्रयोग गरेकै कारण विश्वमा हरेक ४५ सेकेन्डमा एक जनाले ज्यान गुमाइरहेको जनाएको छ । दक्षिण एसियाली राष्ट्रमा एन्टिबायोटिकको जथाभावी प्रयोग भइरहेको संगठनको अनुमान छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्