Logo

रातमा पनि हुलाकी सडकमा काम



काडमाडौँ, १० मंसिर । महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलामा आउने भक्तजनलाई ध्यानमा राखी वीरगन्ज–कलैया–बरियारपुर निर्माणाधीन हुलाकी सडकको निर्माण रातमा पनि भइरहेको छ। वीरगन्ज महानगरपालिकाको लक्षुमनवादेखि महागढीमाई नगरपालिकाको बरियारपुरको इनर्वा चोकसम्म लगभग १९ किमि हुलाकी सडक निर्माणाधीन अवस्थामा रहेको छ। सो सडक वीरगन्जबाट कलैया हुँदै गढीमाई मन्दिरसम्म पुग्ने एक मात्र सडक रहेको छ।

२०७४ असार ११ सम्ममा सम्पन्न गर्ने गरी स्वछन्दरपप्पुरहिम सगरमाथा जेभीले ८५ करोड ८५ लाख रुपैयाँमा सो सडक २०७४ पुस १२ मा हुलाकी राजमार्ग आयोजनासँग ठेक्का सम्झौता गरेको थियो। सो राजमार्गको निर्माण गढिमाईको मेलाअगाडि नै सम्पन्न गराउन हुलाकी राजमार्ग निर्देशनालय प्रमुख अशोक तिवारी नेतृत्वको टोलीले काठमाडौंबाट पटकपटक आएर निर्माण कम्पनीलाई ताकेता गर्दा निर्माण कम्पनीले सडकको बाँकी काम पूरा गर्न रात पनि नभनी काम गरेको बताइएको छ। गढीमाई मेला हेर्न आउने लाखौं भारतीय वीरगन्ज नाका र पर्साको ग्रामीण नाका भएर आउने गरेका र उनीहरूले प्रयोग गर्ने वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडकमा खाल्डाखुल्डी रहिरहँदा भक्तजनलाई सास्ती हुनुका साथै देशकै बारेमा नराम्रो सन्देश जाने भएकाले निर्माणाधीन सो सडक मेलाअगाडि जसरी भए पनि निर्माण गर्न निर्देशन दिनुपरेको हुलाकी राजमार्ग आयोजना प्रमुख तिवारीले बताए।

गढीमाई मेलाअगाडि नै वीरगन्ज–कलैया–बरियारपुर हुलाकी राजमार्ग सम्पन्न हुँदा वीरन्ज र कलैयाबाट गढीमाई मेलामा पुग्ने भक्तजनका सवारीसाधनलाई सजिलो हुनुका साथै सडकमा रहने खाल्डाखुल्डीले हुने सडक दुर्घटनामा समेत कमी आउने भएकाले सडकको निर्माण सम्पन्न गराउन जरुरी रहेको तिवारीले बताए। पहिलादेखि नै लगभग ७ मिटर चौडा रहेको सडक अहिले नालासहित १५ मिटर चौडाइमा निर्माण भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगन्ज पर्साका प्रमुख राजेन्द्र पाण्डेले बताए। हुलाकी राजमार्ग आयोजनासँग ठेक्का सकार गरिएपछि पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको भए पनि हुलाकी राजमार्ग आयोजनाका अधिकारीको ताकेताले अहिलेसम्म यसको निर्माण ६५ प्रतिशत हाराहारीमा पुगेको पाण्डेले जानकारी दिए।

पाँच महिनाअघिसम्म सडक निर्माण ४५ प्रतिशत हाराहारीमा रहेकोमा निर्माण कम्पनीलाई गढीमाई मेलाअघि जसरी पनि सडकमा पहिलो तहको कालोपत्रे सक्नुपर्ने ताकेता गर्दागर्दा पहिलो तहको कालोपत्रे गर्न अन्तिम अवस्थामा आएको पाण्डेले बताए। सडकखण्डमा पर्ने ३१ वटा पुलपुलेसा निर्माण सम्पन्न गरिएको भए पनि डेढ किमि जति सडक पहिलो तहको कालोपत्रे गर्न बाँकी रहेको पाण्डेले बताए। सडक क्षेत्रमा पर्ने विद्युतीय पोल, तार र भौतिक संरचना खाली गराउन ढिलाइ भएपछि निर्माण कम्पनीले निर्माण सुस्त गतिमा अगाडि बढाएको थियो।

मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षीय मेलामा ६० लाखभन्दा बढी भक्तजन आउने विश्वास गरिएको छ। गढीमाई मन्दिरमा लाग्ने मेला विश्वमै धेरै पशुबलि दिइने मेलामा गर्ने गरेको छ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्