Logo

नयाँ मुख्यसचिवमा क–कस्को प्रतिस्पर्धा



काठमाडौं, १० मंसिर । नयाँ निजामती ऐनसँगै निजामती सेवामा भावी मुख्यसचिवबारे चर्चा सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल अब करिब ११ महिना बाँकी छ । तर, सरकारले केही प्रावधानहरु हेरफेर गरी अध्यादेशमार्फत ऐन ल्याएर मुख्यसचिव हेरफेर गर्न सक्ने चर्चा पनि सिंहदरबारमा छ ।

अहिलेका सचिवहरुमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका र सबैभन्दा क्षमतावान सचिवका रुपमा गृहसचिव प्रेमकुमार राई छन् । सचिवको पाँचवर्षे कार्यकालका कारण उनले आगामी माघ २२ गते अवकाश पाउँदैछन् । त्यसकारण त्यसअघि नै उनलाई सरकारले मुख्यसचिव बनाउन लागेको चर्चा सिंहदरबारमा छ । संसदको राज्य व्यवस्था समितिले अवकाशको उमेरलाई ६० वर्षे बनाउने निर्णय गरिसकेको छ । तीनै कुराहरुलाई अध्यादेशमार्फत ल्याउनेबारे छलफल भएको स्रोत बताउँछ । यद्यपि, राईले अवकाश पाएमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति गर्ने लगभग निश्चित छ । हाल सभामुख नहुँदा संवैधानिक निकायमा नियुक्ति प्रक्रिया रोकिएको छ ।

यदी मुख्यसचिव रेग्मीले पूरै कार्यकाल काम गरेमा आगामी वर्ष कात्तिकमा स्थायी सरकार अर्थात् निजामती सेवाको नेतृत्व परिवर्तन हुनेछ । त्यो अवस्थामा चन्द्र घिमिरे मुख्यसचिवका प्रमुख दाबेदार हुनेछन् । त्यो अवस्थामा सबैभन्दा सिनियर सचिवमध्ये उनी पहिलो नम्बरमा हुनेछन् । त्यस्तै दोस्रो नम्बरमा हुने केदारहादुर अधिकारी पनि अहिलेदेखि नै त्यसका लागि लागिसकेका छन् । सत्तारुढ दलका नेताहरुसँग घिमिरेभन्दा अधिकारीको राम्रो सम्बन्ध छ । त्यस्तै तेस्रो नम्बरमा रहेका खगराज बरालले पनि अहिलेदेखि नै लबिङ सुरु गरिसकेका छन् । उता यामकुमारी खतिवडा पहिलो महिला मुख्यसचिव बन्ने दाउमा छिन् ।

विगतमा सरकारले मुख्यसचिव नियुक्तिमा पटक–पटक रोलक्रम मिचेको छ । शेरबहादुर देउवा सरकारले वरिष्ठतामा पहिलो नम्बरमा रहेका ङइन्द्रप्रसाद उपाध्याक्ष र दोस्रो नम्बरमा रहेका शंकर अधिकारीलाई छाडेर तेस्रो नम्बरमा रहेका रेग्मीलाई मुख्यसचिव बनाएको थियो । दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्