Logo

मालीमा हेलिकोप्टर दुर्घटना, १३ फ्रान्सली सैनिकको मृत्यु



पेरिस, १० मङ्सिर । मालीमा हेलीकोप्टर दुर्घटनामा परी कम्तीमा १३ फ्रान्सेली सैनिकको मृत्यु भएको मालीका सुरक्षा अधिकारीले मङ्गलबार जनाएका छन् ।

अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकोप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको हो । फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूकोे एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ ।

मालीको लिप्ताको क्षेत्रमा विद्रोहीविरूद्धको स्थल सेनालाई सघाउन पुगेका हेलीकोप्टर बुर्किना फासो र नाइजरको सीमा नजिकै मालीमा दुर्घटनाग्रस्त भएको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ ।

मालीमा सरकारविरूद्ध सङ्घर्षरत स्लामिक विद्रोहीले पछिल्लो समय सैनिकका बाहिरी अखडाहरूलाई लक्षित गरी आक्रमण सशक्त पारेको थियो ।

विद्रोहीहरू जमिनमा मोटरसाइकल र ट्रकमा चढेर भागिरहेका समय सेनाको लागि बन्दोवस्तीका सामान र खाद्यान्न बोकेको एक हेलीकोप्टर कोउगर र लडाकू हेलीकोप्टर टाइगर एक आपसमा जुध्दा सेनाको मृत्यु भएको मन्त्रालयले बताएको छ ।

दुर्घटनामा भएको क्षतिबाट पाठ सिक्दै फ्रान्सको नेतृत्वमा रहेका गठबन्धन सेनाले आगामी हप्ताहरूमा साहेल क्षेत्रमा स्लामिक विद्रोहीविरूद्धको आक्रमणलाई थप सशक्त पार्ने जनाएको छ ।

मालीसहित चार पश्चिमी अफ्रिकी मुलुकमा फ्रान्सले चार हजार ५०० ‘बार्खाने’ बल प्रयोग गरी स्लामिक विद्रोहीको सशस्त्र आक्रमणलाई अभियानका रूपमा निस्तेज पार्दै आएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्