Logo

तीनकुनेको आर्क ब्रिजको ठेक्का तोडियो, पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस



काठमाडौं, मंसिर ११ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क पुल सम्झौताअनुसार निर्माण नगरेको भन्दै ठेक्का तोडेर उसलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।

ठेकेदार कम्पनी पप्पुले तिनकुनेमा निर्माणाधीन आर्क ब्रिज अलपत्र पारेको भन्दै आयोजनाले एकतर्फी रुपमा ठेक्का तोडेर कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो।

आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले ठेकेदार कम्पनीले पुल निर्माणमा गम्भीर गल्ती गर्नुको साथै आयोजनाको निर्देशन बारम्बार अटेर गरेकाले ठेक्का तोडेको बताए।

ठेकेदार कम्पनीले मोबिलाइजेसन रकम लिनको लागि राखेको एडभान्स पेमेन्टबापतको दुई करोड७७ लाख रुपैयाँ धरौटी जफत गरिएको छ। पप्पुले राखेको कार्यसम्पादन जमानत रकम पर्फर्मेन्स बन्ड जफत गर्नको लागि बैंकलाई अनुरोध गरिसकेको छ ।

यसअघि संसद्को विकास तथा प्रविधि समितिले ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनले पुलको फाउन्डेसन जगको पाइल निर्माणमा रहेको गम्भीर त्रुटि सच्याउन भनेको थियो। तर पप्पुले टेरेन।

संसद्को विकास तथा प्रविधिसमितिको अध्ययन प्रतिवेदनले तीनकुने पुल निर्माणमा गम्भीर गल्ती फेला पारेको थियो। समितिले गत जेठमै ठेकेदार कम्पनीलाई कारवाही गर्न सिफारिस गरेपनि आयोजना र सडक विभागले आनाकानी गर्दै आएका थिए।

ठेक्का सम्झौताअनुसार २९।५ मिटर गहिराइको पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो। ठेकेदार कम्पनीले एउटा पाइल १६।५ मिटरको मात्र निर्माण गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। त्यसैगरी, दुईवटा पाइल क्र्याक भएको प्राविधिक परीक्षणमा देखिएको छ।

पप्पुले तीनकुनेको आर्क पुल २०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने लक्ष्सहित २०७१ पुस ९ गते सम्झौता गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्