Logo

हङकङ प्रदर्शन अमेरिकासँग चीनले लियो स्पष्टीकरण



काठमाडौँ, ११ मंसिर । चीनले अमेरिकी राजदूत टेरी ब्रेनस्टेडलाई स्पष्टीकरण सोधेको छ । हङकङमा प्रजातन्त्रको माग गर्दै आएका पक्षधरको समर्थनमा अमेरिकी कंग्रेसले विधेयक पारित गरेपछि चीन आक्रोशित बनेको हो । उक्त विधेयक रद्द गर्न पनि चीनले अमेरिकासँग आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री चङ चक्वाङले ‘हङकङ मानवाधिकार एवं लोकतन्त्र विधेयक’प्रति आपत्ति प्रकट गरेका छन् । हङकङमा आन्दोलन गर्दै आएका पक्षको समर्थनमा गरेको कामका लागि अमेरिका सबै खालका परिणामा भोग्न तयार हुनुपर्ने उनले चेतावनी पनि दिएका छन् । अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने पनि उनले स्पष्ट पारेका छन् ।

उक्त विधेयक संसद्मा लगभग सर्वसम्मत रूपमा पारित भएको थियो । उक्त विधेयकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको हस्ताक्षर हुन बाँकी छ । आगामी शुक्रवार उक्त विधेयकमा ट्रम्पले हस्ताक्षर गर्ने कार्यक्रम छ । चीनसँग व्यापार वार्ता भइरहेकाले शुक्रवार हस्ताक्षर नगर्ने अनुमान गरिएको छ । उक्त हस्ताक्षर आगामी सोमवारसम्म भइसक्नुपर्नेछ । गत साता उक्त विधेयक पारित भएपछि यसमा अमेरिकी राष्ट्रपतिले १० दिनसम्म स्थगित गर्ने विशेष अधिकार रहेको छ । विधेयकले मानवाधिकार उल्लंघन भएको भन्दै चीन एवं हङकङका अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । अमेरिकी विदेश मन्त्रालयले हङकङलाई दिँदै आएको विशेष स्वायत्त दर्जाको वार्षिक समीक्षा गर्नुपर्ने विधेयकमा उल्लेख छ ।

अमेरिकाले हङकङलाई व्यापारमा विशेष सहुलियत दिँदै आएको छ ।अमेरिकी राजदूतले ब्रेनस्टेडले भने हङकङ आन्दोलनप्रति अमेरिकी सद्भाव रहेको बताएका छन् । उनले भने, ‘हामीले हङकङमा भइरहेको आन्दोलनलाई नियालिरहेका छौं । आन्दोलनमा भइरहेको दमन र हिंसाप्रति हामी सचेत छौं ।’ उनले यसै साता भएको निर्वाचनले हङकङवासीको प्रजातन्त्रप्रतिको समर्थन देखाएको बताएका छन् । हालै हङकङमा भएको निर्वाचनमा सरकारविरोधी दलले अत्यधिक बहुमत हासिल गरेको छ । हङकङका १८ स्थानीय निकायमध्ये १७ वटामा विपक्षीले जित हात पारेका छन् ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्