Logo

मध्यरात १२ बजेदेखि मौन अवधि, निर्वाचन आयोगले दियो यस्तो चेतावनी



काठमाण्डौ । शनिबार हुने उपनिर्वाचनमा लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मध्यरात १२ बजेपछि चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाइने छैन । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ । आचार संहिता उल्लङ्घनको मात्रा हेरी निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रुपैयाँ जरिवनासम्म गर्न सक्ने व्यवस्था रहेको छ ।

दलका उम्मेदवारहरु मौन बस्ने र मतदाताले सही मताधिकार प्रयोग गर्ने समयको रूपमा मौन अवधिलाई लिइन्छ । मौन अवधिमा उम्मेदवारहरु मौन बस्नुपर्छ । अर्थात चुनावी गतिविधि गर्न पाइदैन । भोट माग्ने, घरदैलो गर्ने, सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न पाउँदैनन् । कुनै छापा तथा विद्युतीय सञ्चार माध्यममा अन्तरवार्ता, विज्ञापन तथा प्रचार सामग्री प्रकाशन गर्न पाइँदैन ।

मतदाता लक्षित भोज भतेर गर्न पाइँदैन । मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका चुनावी प्रचार सामग्री पनि हटाउनुपर्छ । सञ्चार माध्यमले पनि कुनै उम्मेदवार लक्षित समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्नु हुँदैन । मतदाताका लागि भने मौन अवधि मताधिकार प्रयोगका लागि सोच्ने समयको रुपमा लिइन्छ । मौन अवधि उम्मेदवार तथा दलहरुलाई मात्र नभएर सर्वसाधारणमा समेत लागू हुन्छ । यस अवधिमा कुनै प्रकार वा माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न नहुने निर्वाचन आयोगले जनाएको छ ।

मौनअवधि उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने आयोगले प्रष्ट पारेको छ । आचारसंहिता विपरितका कार्य गर्नेलाई निर्वाचन कसुर तथा सजायँ ऐन २०७३ अनुसार कारबाही गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । थपलियाले मौन अवधिमा मतदातालाई आश्वासन दिने, प्रलोभनमा पार्ने, दबाब दिने , मतदाता परिचयपत्र कब्जा गर्ने जस्ता घटना भएमा तुरुन्तै जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समिति वा सम्बन्धित निकायलाई जानकारी गराई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

आयोगले उपनिर्वाचन पर्यवेक्षणका लागि ४ वटा राष्ट्रिय पर्यवेक्षण संस्थाहरुलाई अनुमति प्रदान गरेको छ । मतदान केन्द्र भ्रमणका लागि परराष्टमन्त्रालय मार्फत अमेरिका, जापान र अष्टे«लिया दुतावास तथा युरोपियन युनियनलाई पनि अनुमति दिएको हो । ३५ जिल्लाका ४४ स्थानीय तहका ४८ पदमा निर्वाचन हुँदैछ । यस्तै प्रदेशसभा तर्फ ३ र प्रतिनिनिधिसभा तर्फ १ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यी सबै क्षेत्रका उम्मेदवारहरुलाई आचार संहिता लागू हुन्छ ।

उपनिर्वाचनको चुनावी प्रचारका क्रममा दर्जनभन्दा बढी आचार संहिता उल्लङ्घनको उजुरी परेको र त्यसको सम्बोधन गरेको आयोगले दावी गरेको छ । ३५ जिल्लाका ५२ पदका लागि हुने निर्वाचनका लागि निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री पठाइसकेको छ । स्थानीय तहका ४८, प्रदेश सभाका ३ र प्रतिनिधि सभाको १ स्थानका चुनावका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र राखिएको छ । स्थानीय तहका लागि २ सय ७३ जनाको उम्मेदवारी परेको छ भने प्रदेश सभा र प्रतिनिधिसभाको चुनावका लागि ६४ जनाको उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्