Logo

दुई वर्षपछि सुमीको एक्सन



काठमाडौं, १२ मंसिर । मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौंतो’ को मुख्य भूमिका निर्वाह गर्न यसकी नायिका सुमी मोक्तानले दुई वर्ष मार्सलको आर्ट प्रशिक्षण लिएकी छन् । फिल्ममा एक्सन अवतारमा उपस्थित गराइएकी सुमीले भनिन्, ‘क्यारेक्टरअनुसारको भूमिकाका लागि आफूलाई तयार गर्न दुई वर्ष लाग्यो । यसका कुनै पनि नक्कली दृश्य छैनन् । सबै दृश्य वास्तविक हुन् ।’ फिल्ममा उनले फरक क्षमता भएकी युवतीको भूमिका निभाएकी छन् ।

हालै यसको ‘यो जुनी’ बोलको गीत सार्वजनिक भएको । गीतमा श्रेया सोताङ र कमल खत्रीको स्वर छ । गायक कमल स्वयम्को शब्द तथा संगीत छ । हरि हुमागाईंको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता सन्नी सिंहसँग अभिनेत्री सुमी मोक्तान बोल्ड अवतारमा देखिएकी छन् ।गीतलाई फिल्ममा कथावाचनको रूपमा प्रयोग गरिएको निर्देशक हरि हुमागाईंले बताए । थुपै नेपाली फिल्म खिचिसकेका हुमागाईंले पहिलो पटक यो फिल्म निर्देशन गरेका हुन् । उत्तम हुमागाईंले फिल्म खिचेका हुन् ।

बदलाको कथामा निर्मित फिल्ममा सुमी विजय लामाकी छोरीको भूमिकामा छिन् । फिल्ममा लियो ट्यांक, युवराज लामा, धीरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवांगम शाह, मनीषा पुन मगरलगायतको अभिनय छ । फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको निर्देशक हुमागाईं बताउँछन् । विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एन्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्मित फिल्ममा राघवकृष्ण गौतमको लेखन छ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व र राजनराज शिवाकोटी÷पुष्पन प्रधान÷कमल खत्रीको संगीत छ ।
अन्नपुर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्