Logo

पर्यटक बढाउन भ्युटावर



काठमाडौँ, १२ मंसिर। सिन्धुली जिल्लाको पर्यटकीय क्षेत्र गोलान्जोर डाँडामा आकर्षक भ्युटावर निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धन गरी आम्दानीको स्रोत बढाउन गोलान्जोर गाउँपालिकाले वडा नं। ४, ५ र ६ को सिमानामा रहेको गोलान्जोर डाँडामा ८६ लाख रुपियाँको लागतमा भ्युटावर निर्माण गरेको हो ।

गाउँपालिकाका प्रवक्ता दौलत कार्कीका अनुसार भ्युटावर निर्माणका लागि गत आर्थिक वर्ष २०७५÷७६ मा एक करोड चार लाख रुपियाँमा टेन्डर भएकोमा ८६ लाख रुपियाँमा तामाङ मरिण कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । नौ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७५ मा सम्झौता गरी निर्माण सुरु गरिएको भए पनि निर्माणस्थलमा सामान लैजान सडक निर्माण गर्नुपर्ने र सडक निर्माणमा लामो समय विवाद भएकाले निर्माण कार्य ढिलो भएको उक्त कम्पनीले जनाएको छ । नौ महिनामा निर्माण सक्ने गरी सम्झौता भएकोमा सुरुको छ महिना जति कामै हुन सकेन, निर्माण कार्यमा खटिएका ओभरसियर निराजन बस्नेतले भने, तोकिएको समयमा काम नसकिएपछि तीन महिना म्याद थपिएको थियो । अहिले सबै काम सकिएको अवस्था छ । रेलिङ हाल्न बाँकी छ, त्यो काम पनि १५ दिन जतिमा सकिन्छ ।

बहुवर्षे आयोजनाअन्तर्गत निर्माण भइरहेको टावरले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने लक्ष्य राखिएको स्थानीयले बताएका छन् । भ्युटावर निर्माणसँगै गोलान्जोर डाँडा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक स्थलको रूपमा विकसित भएको पनि उनीहरूको भनाइ छ । गोलान्जोर डाँडा दृश्यावलोकनका लागि ज्यादै उपयुक्त रहेकाले गाउँपालिकाले भ्युटावर निर्माण गरेको स्थानीय शिक्षक लेखबहादुर बस्नेतले बताए। अहिलेसम्म चार तला बनेको छ, तला थप्दै जाने योजना छ, उनले भने, गोलान्जोर डाँडामा ठूलो टार छ । त्यहाँबाट तराई र हिमालको ठूलो भूभाग देख्न सकिन्छ । उक्त गाउँपालिकासँगै जोडिएको फिक्कल गाउँपालिकाले पनि वडा नंंं। ३ फिक्कलमा भ्युटावर निर्माण गरिरहेको छ । अहिलेसम्म करिब एक करोड छ लाख रुपियाँ लगानी भइसकेको फिक्कल भ्युटावर निर्माण समितिका अध्यक्ष प्रेमबहादुर थापा मगरले बताए।
उनका अनुसार २०६८ सालबाटै यो टावर निर्माण सुरु गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३५ लाख बजेटसहित हालसम्म एक करोड छ लाख रुपियाँ खर्च भइसकेको जनाइएको छ । गाउँपालिकाको ७० लाख बजेट, मन्त्रालयको ३५ लाख, तत्कालीन खोलागाउँ गाविसबाट ६० हजार र सांसद विकास कोषबाट ४० हजार रुपियाँ बजेट उक्त भ्युटावर निर्माणका लागि खर्च भएको छ ।

समुद्र सतहदेखि दुई हजार ८८७ मिटर उचाइमा रहेको पर्यटकीयस्थल फिक्कलमा यातायात सुविधा पुगिसकेको छ । सिन्धुलीको फिक्कललाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाउन भ्युटावर निर्माण गरिएको बताउँदै अध्यक्ष मगरले भने, भ्युटावर र सडक निर्माणले त्यस क्षेत्रको पर्यटन विकासको ढोका खुलेको छ । टावर निर्माण कार्य धमाधम भइरहेको छ, उक्त वडाका अध्यक्ष टेकबहादुर रजन मगरले भने, हालसम्म करिब ६५ प्रतिशत काम सम्पन्न भइसक्यो । ६४ फिट अग्लो टावरको सात तला निर्माण हुने र हालसम्म पाँच तला निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ । भ्युटावर निर्माणपछि यस क्षेत्रमा पर्यटक बढ्ने अपेक्षा स्थानीय सरकारले गरेको छ । फिक्कलबाट नेपालका २६ वटा जिल्लालगायत भारतको बिहार र चीनको स्वशासित क्षेत्र तिब्बतको केही पहाडसमेत अवलोकन गर्न सकिने हुँदा यसको विकासका लागि सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्