Logo

द्रौपदीका पाँच पति इच्छा कि बरदान



महाभारतका अनुसार द्रौपदी राजा द्रुपदकी छोरी र पाण्डवकी पत्नी थिइन् । कौरवद्धारा आयोजित गरेको जुवाको खेलमा द्रौपदीलाई दाउमा लगाएका थिए । पाण्डवले दाउ हारे र त्यसपछि दुशासनले उनको घरमा अपमानित गरे । द्रौपदीको चरित्रको बारेमा सबैलाई जानकारी थियो । उनको चरित्रका बारेमा धेरै मानिसहरुलाई थाहा थियो कि उनी धेरै आदर्श र चरित्रवान नारी थिइन् । उनीबाट धेरै कुरा सिक्न सकिन्छ ।

महाभारत ग्रन्थका अनुसार एक दिन राजा द्रुपद पाण्डवबाट पराजित भएको कारण दुखि थिए । द्रोणाचार्यको कारण युद्धमा हार भयो जसले गर्दा उनमा खुशी थिएन । राजा द्रुपद चिन्ताका कारण कमजोर हुँदै गए । द्रोणाचार्यलाई मार्ने पुत्रको चाहनामा एक आश्र्रमबाट अर्को आश्र्रममा भौतारिन लागे । उनी भौतारिदै एक दिन कल्माषी नामको नगरमा पुगे । त्यस नगरमा ब्रह्मचार्यको पालना गर्ने स्नातक ब्राह्मण बस्थे । त्यहाँ दुई ब्राह्मण याज र उपयाजसँग उनको भेट भयो । उनले उपयाज र याजसँग पुत्र प्राप्तिका लागि हवन गर्ने प्रार्थना गरे । त्यसपछि याजले राजा द्रुपदको पुत्र प्राप्तिका लागि हवन गराए ।

त्यस अग्निकुण्डबाट एक दिव्य कुमार प्रकट भए । त्यहाँ कुमार अग्नि कुण्डबाट निक्लेर गर्जन लागे । उनी रथमा बसेर यता उता घुम्न थाले । त्यही हवन कुण्डबाट कुमारी पांचालीको पनि जन्म भयो । त्यसपछि ब्राह्मणाले दिव्य कुमार र कुमारी नाम राखे । उनले भने कुमार असहिष्णु, बलवान र रूपवान हुनका साथै कवच कुंडल धारण गरेका छन् । उनमा अग्निको प्रभाव देखिन्छ । त्यसकारण उनको नाम धृष्टद्युम्र भएको हो । कुमारी कृष्ण वर्णकी छिन् उनको नाम कृष्णा भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

द्रौपदी पूर्व जन्ममा ठूला ऋषिकी गुणवान कन्या थिइन् । उनी रूपवती, गुणवती र सदाचारिणी थिइन् । किनकि पूर्वजन्मका कर्मको कारण कसैले पनि उनलाई पत्नीका रुपमा स्वीकार गरेनन् । त्यस कुराले दुखि भएर उनी तपस्या गर्न लागिन् । उनको कठोर तपस्याको कारण भगवान शिव प्रसन्न भएर द्रौपदीलाई मनले चाहेको बरदान माग भने । द्रौपदी प्रसन्न हुँदै भनिन्, “म सर्वगुणयुक्त,पति चाहन्छु ।” त्यसपछि भगवान शंकरले भने,“तिमीले मनले चाहेको पति पाउनको लागि मसँग पाँच पटक प्रार्थना ग¥यौ । त्यसैले तिमीले दोस्रो जन्ममा एक मात्र होइन पाँच पति पाउनेछौ ।” त्यसपछि द्रौपदीले भनिन्, “म त तपाइको कृपाले एक मात्र पति चाहन्छु ।” अनि शिव भन्छन्,“मेरो दिएको बरदान कहिल्यै फिर्ता हुँदैन त्यसले तिमीले पाँच पति नै पाउनेछौ ।”

द्रौपदीले पाँच गुणले सम्पन्न पति पाउँ भनी महादेवसँग पाँचै पटक बरदान मागेकी थिइन् । एकै व्यक्तिसँग पाँचै गुण नपाएपछि उनले पाँच पति बरदान दिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्