Logo

सागको उद्घाटनमा उपप्रधानमन्त्री पोखरेलले सम्बोधन गर्ने (भिडियोसहित)



काठमाडौं, १२ मंसिर । मंसिर १५ गते उद्घाटन हुने १३ औं दक्षिण एशियाली क्षेत्रीय खुलकुद प्रतियोगिता (साग) मा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम स्थगित् भएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री ओलीको सट्टा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने निधो भएको युवा तथा खेलकुद मन्त्री जगत बहादुर (सुनार) विश्वकर्माले जानकारी दिए ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीको गएको मंगलबार महाराजगन्जको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको छ । चिकित्सकहरुले अझै केही दिन अस्पतालमै आराम गर्न सुझाएका छन् ।

आजमात्रै पनि अस्पताल पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुका साथै स्वास्थ्य अवस्थामा भइरहेको सुधारप्रति खुसी र सन्तोष व्यक्त गरेको जनाइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै गएपनि सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक प्रा। डा। उत्तमकृष्ण श्रेष्ठले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको उल्लेख छ । विज्ञप्तिमा शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र आफ्नो स्वास्थ्य सम्बन्धमा मिडियामा आएका समाचारबारे जिज्ञासा राखेको जानकारी दिए ।

उक्त सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजे गर्ने कार्यक्रम रहेको उनको भनाई छ। उनले सागलाई ऐतिहासिक, भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरे । काठमाडौं, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति भण्डारीले आगामी आइतबार दशरथ रङ्गशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नेछिन् । नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरवमाथि उठाउने हिसाबले प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने मन्त्री विश्वकर्माले जानकारी दिए ।

करीब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ । उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहनेछ ।

प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान, श्रीलङ्काका करीब पाँच हजार सङ्ख्यामा खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी आउने क्रम शुरु भइसकेको छ । सागलाई सफल तुल्याउन करीब २० हजार सुरक्षाकर्मी खट्नेछन् भने ५०० स्वयंसेवकलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ ।

सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई वटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । मन्त्री विश्वकर्माले भने,“साग खेलकूद प्रतियोगिता हाम्रा लागि आफैमा महत्वपूर्ण उत्साहको पर्व हो, प्रतियोगितालाई भव्यरुपमा सफल तुल्याउन सबैको साथ सहयोगका लागि अपिल गर्दछौ ।”



प्रतिक्रिया दिनुहोस्