Logo

पेट्रोलियम अन्वेषणमा कठिनाइ



काठमाडौँ, १३ मंसिर । दैलेखको पेट्रोलियम पदार्थ अन्बेषण गर्ने क्रममा भौगोलिक कठिनाईका कारण काममा ढिलाई भएको छ । जमिनको करिव ४५ फिट मुनिबाट ड्रिलिङ गर्नुपर्ने भए पनि पहाडी भूगोलका कारण काम गर्ने समस्या भएको हो ।
पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण भिरपाखा र खेतबारीमा अहिले ड्रिलिङको काम गरिरहेको भए पनि जुन गतिका साथ काम हुनु पर्ने हो सोही अनुसार हुन नसेको खानी तथा भूर्गभ बिभागका भूगर्भबिद् डा। गणेशनाथ त्रिपाठीले बताए।

तराई जस्तो समथर भूभाग भएको खण्डमा एक दिनमा ३० देखि ४० वटा स्थानमा ड्रिलिङ सकिन्थ्यो तर पहाडी भूभाग र भिरालो स्थान भएका कारण पनि ड्रिलिङको काम जुन गतिमा जानु पर्ने त्यो गतिमा जान नसकेको उनले जनाए।
उनले पेट्रोलियम पदार्थको अन्बेषण कार्यका लागि महत्वपूर्ण सर्बे भनेको साईस्मिक सर्बे भएका कारण आठ÷आठ जनाको १० वटा टोली बनाएर ड्रिलिङको काम भएको बताए । उहाँले पेट्रोलियम जिओलोजिकल सर्भेका लागि १५ म्याग्नेटो टेलरिङ सर्भेका लागि २२ जना र जिओकेमिकल लागि ६ जनाले काम गरिरहेको र अव छिट्ै बिस्फोटक पदार्थमार्फत चट्टान फुटाउने काम सुरु गर्न लागिएको उल्लेख गरे । पेट्रोलियम पर्दाथको अन्बेषणको क्रममा ड्रिलिङ गरेका स्थानमा बिस्फोटक पदार्थमार्फत बिद्युतीय तरंग पैदा गरेर त्यसपछि मात्र मुख्य ड्रिलिङको काम भने पछि हुनेछ ।

पछि हुने महत्वपूर्ण ड्रिलिङका लागि आवश्यक औजारहरू समेत चाइनाको प्राबिधिक टोलीले मगाउने जनाएको छ । मुख्य ड्रिलिङ गर्ने मेसिन ५० टन भन्दा बढी हुन्छ त्यो कसरी ल्याउने भन्ने समेत समस्या देखिएको जनाइएको छ । पेट्रोलियम पदार्थको अन्बेषणमा खटिएका प्राबिधिकहरुले भिरालो जमिन र बिभिन्न स्थानमा सडकको पहुँच नभएका कारण मेसिन बोकेर लैजान समेत समस्या भएको बताए । उनीहरुले जंगल र भिरमा मेसिन लिएर ड्रिलिङ गर्नुपर्ने कारण कारण पनि काममा समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बिस्फोटक पदार्थ र अन्य महत्वपूर्ण सुरक्षाको जिल्मा जिल्ला सुरक्षा समतिले लिएको बताए। अहिले ड्रिलिङ गरेको स्थानमा चाइनाको प्राबिधिक टोली र नेपाली सेनाको टोलीले बिस्फोटक पदार्थको तरंग पैदा गर्ने जानकारी दिए ।

उहाँले नेपाल सरकारको महत्वपूर्ण आयोजना र नेपालमै पहिलो पटक यो कार्यको सुरुवात भएका कारण त्यसको नियमति सुरक्षा प्रदान गरेको समेत बताए। नेपाल सरकार खानी तथा भूगर्भ बिभागका महानिर्देशक सोमनाथ सापकोटा र चाईना सरकारको जिओलोजिकल सर्बे कम्पनीबीच भएको सम्झौता अनुसार अहिले दैलेखमा पेट्रोलियम पदार्थको अन्बेषणको काम भईरहेको छ । पेट्रोलियम पदार्थको अन्बेषणका लागि चाइनाको प्राबिधिक टोली, खानी बिभागको टोली र कामदारहरू गरि १५० जना भन्दा बढीको टोली खटिएको छ । अन्बेषण टोलीको नेतृत्व चाइना जिओलोजिकल सर्भेका बरिष्ठ भूगर्भबिद ट्यान फुएनले गरे।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्