Logo

४० होटलमा सागका पाहुना



पोखरा, मंसिर १३ । १३ औं दक्षिण एसियाली खेलकुद सागको स्वागतार्थ पर्यटकीय क्षेत्र लेकसाइड तयारीमा जुटेको छ। सागमा विभिन्न आठवटा खेल पोखरामा हुँदैछन्। ती खेलका खेलाडी र अफिसियल गरी आठ सय २४ जना पाहुना पोखरामा खेल्नका लागि भित्रिँदैछन्।

खेलाडी र अफिसियल बाहेकका अरु सयौं स्वदेशी र विदेशी पाहुना पनि यही बेला भित्रिँदैछन्। कतिपय मुलुकका खेलाडी बिहीबार नै पोखरा आइसकेका छन्। स्थानीय साग व्यवस्थापन समिति अन्तर्गतको प्राविधिक समितिका सचिव बलराम लामाका अनुसार महिला तीन सय ९६, पुरुष दुई सय ६४, अफिसियल एक सय ६४ गरी खेलसँग सम्बन्धित आठ सय २४ जना पोखरा आउनेछन्। ती बाहेक खेलकुदसँग आवद्ध अरु पाहुना, सञ्चारकर्मी, खेलप्रेमी पनि यहीबेला पोखरा भित्रिँदैछन्।

स्थानीय व्यवस्थापकले खेलाडी र अफिसियल गरी ११ सय पाहुनाका लागि आवास व्यवस्थापन गरेको छ। खेलाडी, अफिसियलसहितका ११ सय पाहुनाका लागि अहिले यहाँका ४० वटा होटलमा आवास व्यवस्थापन गरेको व्यवस्थापकले बताएका छन्। एकैपटक ११ सय पाहुना र बाँकी हजारौ खेलप्रेमी यो बेला पोखरामा आउने हुँदा सिजनको बेला उकासिन नसकेको पर्यटन क्षेत्र सागको यो संस्करणबाट पाहुना पाउँदा खुसी छ।

सातवटा देशका खेलाडी र खेल पदाधिकारीसहित समर्थक पोखरा भित्रिने हुँदा पर्यटनमा तत्कालै र दीर्घकालीन फाइदा मिल्ने पर्यटन व्यवसायीको अपेक्षा रहेको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot