Logo

प्रधानमन्त्री ओलीलाई भेट्न रोक, नेताहरु डाक्टर भेट्दै फर्कदै



काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाइएपनि उनलाई भेट्न जाने शिर्ष नेता देखि नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेताहरु रोकिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाहेक कुनैपनि उच्च ओहदाको व्यक्ति र नेतालाई अहिलेसम्म भेट्न दिइएको छैन ।

बिहिबार साँझ राष्ट्रपति भण्डारीले केहीबेर भेटेर स्थितिबारे जानकारी लिएकी थिइन् । उनले बढी समय चिकित्सकहरुसँग कुराकानी गरिन् । संक्रमणको खतरा हुने भन्दै चिकित्सकले कसैलाई भेट्न नदिएको बुझिएको छ ।

ओलीको नजिक पत्नी राधिका शाक्यलाई मात्र पुग्न दिइएको छ । भेट्न आउने सबैलाई रोकिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार सल्लाहकारहरुले पनि भेट्न पाएका छैनन् । संक्रमणको खतरालाई दृष्टिगत गरी भेटमा निकै कडाई गरिएको बताइएको छ ।

ओलीलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै महाराजगञ्जस्थित अस्पताल पुगेपछि डाक्टर र सल्लाहकारलाई भेटेर फर्किएका थिए । अमिक शेरचन पनि पुगे तर भेट्न पाएनन् ।

नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललगायत नेताहरु सल्लाहकारहरुसँग सम्पर्कमा रहेपनि भेट्न नपाउने भएकाले अस्पताल पुगेका छैनन् ।

पेटको समस्या भएपछि महाराजगञ्जस्थित अस्पताल पुर्याइएका ओलीको मंगलबार नै एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । पेट दुखेर महाराजगञ्जस्थित अस्पताल लगिएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टर मा मंगलबार शल्यक्रिया गरिएको थियो । उनको सफल सल्यक्रियापछि अस्पतालमा आरामका लागि राखिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्