Logo

सिद्धबाबामाथि बलात्कारको उजूरी, बाबा अस्पतालमा



काठमाडौं, १३ मंसिर । चतरास्थित महायोगी सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेकी छिन् । महिलाले उजूरी गरेपछि त्यसबारे छानविन भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय यौनदुव्र्यवहारको आरोप लागेपछि उनी पक्राउ परेको चर्चा चल्ने गरेको छ । तर, जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ नपरेको जानकारी दियो । ‘उजूरी परेकाले अनुसन्धान गरिरहेका छौं,’सुनसरी प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले भने । प्रहरीले अनुसन्धानपछि यसको टुंगो लाग्ने जनाइएको छ ।

यसैगरी, बाबाका अनुयायी भरत सापकोटाले सिद्धबाबा पक्राउ नपरेको बताए । उनले बाबा विराटनगरस्थित अस्पतालमा उपचाररत रहेको जानकारी दिए । उनले भने, ‘भ्रमको पछि नलागौं बाबा पक्राउ पर्नुभएको छैन ।’

यसअघि सिद्धबाबामाथि महिलाले षड्यन्त्रमूलक तरिकाले चरित्रहत्या गर्न खोजेको भन्दै महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण गराएको थियो । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले धर्म संस्कृति र अध्यात्मिक चिन्तनलाई कमजोर पार्ने उद्देश्यका साथ सुनियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको भन्दै सरकार समक्ष घटनाको निष्पक्ष छानविन गरी निराधार आरोप लगाउने दोषीमाथि कारबाहीको माग समेत गरेको थियो ।

सुनसरीको चतरामा आश्रममा रहेका महायोगी सिद्धबाबाको यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रतिष्ठानले सिद्धबाबाविरुद्ध गलत अभिप्रायका साथ केही व्यक्तिहरु लागेको उल्लेख गरेको थियो । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले सिद्धबाबाविरुद्ध कुतसीत नियतले चरित्रहत्या गर्न केही संगठित समूह सक्रिय रहेको बताएका थिए । उनले भने,‘ सिद्धबाबाविरुद्ध कुत्सीत नियतले चरित्रहत्या गर्ने गरी केही संगठित प्रयास भइरहेकोले त्यसतर्फ सजग रहन आग्रह गर्दछौं ।’ उनले नेपाल भूमि सिद्ध सन्त महापुरुषको भूमी भएको र त्यसै कडीमा हाल समाधीसिद्ध महायोगी सिद्धबाबा अर्थतन्त्रको विकासका लागि हरित अभियान, प्राकृतिक चिकित्सा विज्ञान जस्ता महत्वपूर्ण अभियानमा रहेको अवस्थामा गम्भीर आरोप लगाउनुलाई षड्यन्त्र भनेका छन् । सिद्धबाबाले भक्ति उपासना मार्गमा आकर्षित गराउन समाधी अवस्थालाई पटक पटक सार्वजनिक गरेको समेत उल्लेख गरे ।

प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले सिद्धबाबाविरुद्ध संगठित गिरोह लागेकाले तत्काल छानविन गरी कडा कारबाहीको माग गरे । संगठित गिरोहविरुद्ध प्रहरीमा निवेदन समेत दिइएको उनको भनाई थियो । पण्डितले भने,‘उहाँको चरित्र हत्या गर्ने उद्देश्यले विगतमा पनि महिलाहरुलाई प्रयोग गर्ने प्रयास असफल भएको थियो । फेरि त्यो प्रयास सुरु भएको हुँदा त्यसलाई बुझि सो षड्यन्त्रउपर अनुसन्धान गर्न प्रहरीमा निवेदन दिइसकेका छौं ।’ सिद्धबाबालाई यौन दूव्र्यवहार जस्तो कल्पनै गर्न नसकिने आरोप लगाउन खोजिएको विषयलाई सुनियोजित षड्यन्त्र भनेका छन् ।

जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबाका रुपमा परिचित सिद्धबाबा निकै लोकप्रीय छन् । पछिल्लो समय उनको चरित्रमाथि आँच पुग्ने आरोपहरु लागेका छन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्