Logo

यस्तो छ गढीमाइमा बलीप्रथाको कथा



बारा बरियारपुरस्थित गढीमाई मन्दिरमा विशेष पूजा सुरु भइसकेको छ । झुन्डका झुन्ड भक्तजन त्यहाँ पुगिरहेका छन् । बारा–पर्साका होटेलहरू सुरुकै दिन भरिएका छन् । हरेक पाँच वर्षमा लाग्ने मेलाको आकर्षण गढीमाईमा देख्न सकिन्छ ।

‘लाखौं धार्मिक पर्यटक यसपालि पनि आइपुग्छन्,’ मन्दिरका पूजारी मंगल चौधरीले बताए । एक महिना लाग्ने यो मेला नेपालकै ठूला मेलामध्येको एक हो । १७ देखि १९ मंसिरसम्म विशेष बलि प्रदान हु“दै छ । पहिलोपटक गढीमाई दर्शन गर्ने, पूजाआजा गरी भाकल गर्ने र अर्को मेलामा बलि चढाउने गरेको जानकारहरू बताउ“छन् ।

देशका प्रमुख सय पर्यटकीय गन्तव्यमा परेको गढीमाईमा भारतका धेरै जनसंख्या भएका राज्यहरू विहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित पुरै भारतका विभिन्न क्षेत्र, बंगलादेश, भुटानबाट पनि श्रद्धालु आइपुग्छन्् । नेपालका पनि सबैजसो जिल्लाबाट धर्मालवम्बीहरू पुग्ने गर्छन् ।
पिठछेवैको खुला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूलरूपी तीन ताप आध्यात्मिक, आदिदैविक र आदिभौतिक नाश हुन्छन्् भन्ने जनविश्वास रहेको छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर रहेको छ । मन्दिरबाट पूर्वदक्षिणतिर पीपलबोटसँगै रहेको ब्रह्मस्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ र लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि अन्य दर्शनार्थीका लागि दर्शन खुला गरिने प्रचलन छ ।

गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । यससँगै गढीमाईका बहिनीहरू कटवासीमाई, कंकालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिने गरिने धार्मिक विधि रहेको मूल पुजारी
चौधरीले बताए ।

विगतका मेला करिब १ करोड अनुमान गरिएकोमा करिब ८० लाख भक्तजन आउने गरेका थिए । यसपटक करोड पुग्ने समितिको अनुमान छ । मेला अवधिभर बारामा करोडौंको खाद्यान्न, पानी, चुरोट, मदिरा, मासु, चिउरा, पेय पदार्थ आदिको अत्यधिक व्यापार हुने र भारतीय रुपैयाँ भित्रिने गर्दछ । सवारीसाधनमा समूह बनाई भारतीय नागरिक परिवारसहित सातादिनसम्म पूजाआजा गरी मेला हेर्ने र समूहमै खाना बनाएर खुला स्थानमा सुत्ने गर्दछन् । पछिल्लो समय नेपालका विभिन्न स्थानबाट पनि मेलाका समय मन्दिर आउनेक्रम बढ्दो छ ।

बलि प्रदान कार्यक्रम

कडा तान्त्रिक र धार्मिक विधिबाट मानव रगतसहितको पञ्चबलिपछि गढीमाईमा भाकल लिएर आउनेका लागि बलि खुला गरिनेछ । देवीलाई दिइने पञ्च बलिमध्ये सेतो रङको दुईवटा मुसा पुजारीका समूहबाट वनमा लगी तान्त्रिक विधिबाट पूजा गरिसकेपछि मुसासहित रातको दुई बजेदेखि पूजा प्रारम्भ गरी बोका, लोकल कुखुरा भाले, सुँगुर, परेवा र मानव रगत पा“च थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफैं प्रज्वलित हुन्छ ।

दियो प्रज्वलित भएपछि हाँसको पाँचवटा अण्डा बलि दिई अण्डामै त्रिशूल गाडिन्छ । अनि पाँचवटा राँगा मन्दिरकै मौलामा बलि गरेपछि सबैका लागि बलि खुला हुने प्रचलन रहेको छ । करिब २ सय ५० जनालाई बलि मार हान्न सरकार र समितिले अनुमति दिने र उनीहरूले मात्रै पशुलाई मार हान्ने अधिकार प्राप्त गर्नेछन्् । पुहखोला र बालगंगा खोलाबीच मन्दिरको एक किलोमिटर वरपर धार्मिक विधिबाट तोकिएको सीमामा बलि दिइन्छ । भाकल गरेका राँगाहरू बलिपश्चात् त्यही छाडेर जाने र उक्त मासु केही समुदायले प्रसादका रूपमा घर लैजाने चलन
रहेको छ ।

प्यागोडा शैलीको मन्दिर

प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरभित्रको देवीमूर्ति करिब १ सय ५० वर्ष पहिले उपेन्द्रविक्रम शाहले स्थापना गरेको इतिहास रहेको छ । नेपालको अन्य मन्दिरका हिसाबले धेरै ठूलो नभए पनि यो मन्दिर आकर्षक रहेको त्यहाँ पुग्ने जोकोहीले अनुभव गर्न सक्छन् ।
मेला अवधिभर नेपाल तथा भारतका विभिन्न राज्यबाट करोडौंको संख्यामा पर्यटक एवं भक्तजन उपस्थित हुनु र पूजाअन्तर्गत विशेष दीप प्रज्वलित हुनु तथा लाखांैको संख्यामा दिइएको पशु बलिको रगतमा झिंगा नलाग्नु गढीमाई मेलाको थप विशेषता हो ।

सदरमुकाम कलैयाबाट ७ किमि पूर्व महागढीमाई नगरपालिका–१ बरियारपुरमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्रमा पुग्न यातायातको राम्रो सुविधा छ । राजधानी काठमाडौंबाट कलैयासम्म दैनिक दिवा तथा रात्रि बस सेवा, टाटासुमो सेवा सञ्चालनमा रहेका छन् । हवाईमार्गबाट सिमरा पुगी वीरगन्ज हुँदै यहाँ सजिलै पुग्न सकिन्छ । भारतीय पर्यटक रक्सौल हुँदै वीरगन्जबाट पनि त्यहाँ पुग्ने गर्छन् ।

लाखौं भक्तजन दर्शन गर्ने र ठूलो संख्यामा पशुबलि दिइने गढीमाई मेलामा दर्शनार्थीका लागि डिलक्स शौचालय निर्माण गरिएको छ । सडक, बिजुली, बजार व्यवस्थापन, सवारी पार्किङस्थल, खानेपानीको सरल र सुलभ व्यवस्था गरिएको छ । विगतभन्दा यस वर्ष महागाढीमाई मेला व्यवस्थापन मुल समितिले मनोरञ्जन ठेक्का १ लाख २२ हजार, जग्गा ठेक्का ६५ लाख, गाडी पर्किङ ठेक्का ८ लाख ५ हजारमा लगाएको छ ।
गत वर्ष राँगा ठेक्का १ करोड ६० लाखमा लगाइएको थियो भने यस वर्ष मेलामा ठेक्का प्रक्रियामै छ । गत पञ्चवर्षीय मेलामा लाखौं भक्तजनले गढीमाईमा चढाएको भेटीको ठेक्का ४० लाख ५० हजारमा लगाइएको थियो ।

मेलामा चढाइएको भेटी मन्दिरका पूजारीले भोग गर्दै आएका छन्् भने यस वर्ष मन्दिरमा संकलन भएको कुल भेटीमध्ये ४५ प्रतिशत पुजारीलाई दिइनेछ । बाँकी मन्दिरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने गढीमाई मेला व्यवस्थापन मूल समिति महासचिव मोतीलाल कुशवाहाले जानकारी गराएका छन्् ।

गढीमाई स्थापनाको कथा

करिब २ सय ६५ वर्षको लामो इतिहास बोकेको गढीमाई देवीको स्थापना बारा सिम्रौनगढका तिरहुतेहरूको शासनकालमा भएको मानिन्छ । कुनै समयमा थारू जातिका एक व्यक्ति मकवानपुर गढीमा बन्दीका रूपमा थुनिएका रहेछन्् ।

उनलाई उक्त गढीमा रहेकी देवीले सपनामा आफूलाई त्यहाँबाट कतै लगेर स्थापना गर्न सल्लाह दिइछन्् । ती कैदी त्यही रात जेलबाट छुटेछन्् र त्यहाँकी देवीलाई बरियारपुरमा लगेर स्थापना गरेछन्् । त्यसपछि गढीमाईमा तिनै व्यक्ति पुजारी बनेको स्थानीयवासी बताउँछन् ।
हालसम्म पनि गढीमाईमा तिनकै सन्तान पुजारी रहेको विश्वास गरिन्छ । सिम्रौनगढबाट भागेका हरिसिंह देव र उनकी रानी देवलदेवी एक रात यही गढीमाईमा बास बसेछन्् । किंवदन्तीअनुसार उनीहरूले साथमा लिएर हिँडेकी तुलजादेवीको एउटा अंश गढीमाई क्षेत्रमै छ । बारा, बरियारपुरकी गढीमाईलाई साक्षात् देवी मानिन्छ । यिनले इच्छा पूरा गर्दछिन् भन्ने जनविश्वास रहेको पुजारीहरू बताउँछन् ।

स्थानीय जनश्रुतिअनुसार कुनै बेला त्यस भेगमा रस्सागुरु नामक एक जना सिद्ध व्यक्ति रहेछन्् । उनी देवीलाई प्रसन्न पारेर बाघलाई आफ्नो अधीनमा लिन्थे र गोरु तथा राँगासरह अन्नपातको दाउनी गर्न प्रयोग गर्दथे ।

गढीमाईमा प्रत्येक पाँच वर्षको पूजा एकैपटक सम्पन्न गर्ने चलन छ । त्यस अवसरमा सेतो मुसा, पाठो, सुँगुर र राँगाको बलि दिइन्छ । मन्दिरका तर्फबाट पूजा गरी बलि दिएपछि मात्र भक्तहरूलाई पूजा तथा बलिका लागि अनुमति दिने चलन रहेको छ ।

एकैपटक सबैभन्दा बढी संख्यामा राँगाको बलि दिइने स्थान पनि गढीमाई नै हो । यी देवीले भक्तको मनोकांक्षा पूरा गर्ने जनविश्वास रहेकाले मेलाका अवसरमा यी माईलाई पशुबलि दिनेहरूको ठूलो भीड लाग्ने गरेको हो । ८० प्रतिशत भारतीयले बलि चढाउन आउने गर्दछन्् । अघिल्लो मेलामा भारतले रोक्दारोक्दै पनि १८ हजार राँगा र लाखौं बोका, हाँस, कुखुरा बलि चढेको थियो ।

रोक्नेको सक्रियता

कसैले आस्थाले भगवानलाई चढाउन ल्याउने बलि रोक्न नमिल्ने र रोक्न नसक्ने मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए । भक्तजनमा गढीमाईको आस्था बढ्दै गएको बताउँदै उनले २६ वर्षदेखि प्रत्येक मेलामा बलि बढेको दाबी गरे ।
अघिल्लोपटकको पञ्चवर्षीय मेलामा १ करोड ५ लाखभन्दा बढी भक्तजनले गढीमाई दर्शन गरेको, २५ हजार राँगा र २० हजारभन्दा बढी बोका बलि दिइएको गढीमाई मेला व्यवस्थापन समितिको तथ्यांकले जनाएको छ ।

मूल पूजारी चौधरी भन्छन्, ‘हामीले कसैलाई बलि लिएर आऊ भन्ने होइन, आस्थाले ल्याउने गर्छन् । राँगा, बोका, सुँगुर, मुसा, हाँस, कुखुरा र परेवाको बलि दिने गरिन्छ ।

बलि रोक्न केही अभियन्ता वर्षौंदेखि क्रियाशील छन् । उनीहरूले त्यस क्षेत्रमा पर्चापम्पलेट ठाउँठाउँमा वितरण गरिरहेका छन् । तर, यसको प्रभाव खासै नपरेको स्थानीयले बताएका छन्
राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्