पश्चिमी पर्सामा भारतीय पक्षले एकतर्फी कुलो बनाउँदा स्थानीयको बिरोध


वीरगञ्ज, १४ मङ्सिर : पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन् । ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी मुहान थुनेर दुईवटा कुलो बनाई भारततर्फ पानी लैजाने गरेको बताए ।

ठुटे खोलाको पूर्वतर्फको भिरसँगै रहेको तीनवटा कुलोमध्ये दुईवटा ठूला कुलाबाट भारतीय पक्षले एकतर्फी रुपमा पानी लगेको छ भने एउटा सानो कुलो नेपाली पक्षलाई प्रयोग गर्न दिएको बताउँदै स्थानीयवासी प्रेमबहादुर विकले भने , “सोको विरोध गर्दा भारतीयहरुले कुटपिट गर्ने, दबाब दिने भएकाले यसतर्फ नेपाल सरकारले समयमै ध्यान दिनुपर्दछ ।”

चितवनको चुरे डाँडामा रहेको पानीको मुहानबाट सो पानी ठुटे खोलामा आउने गरेको र सो खोला हुँदै पानी भारतर्फ जाने गरेको छ । अहिले सो खोलामा पानी त्यति मात्रामा नभए पनि कुलो बनाएर भारतर्फ लैजाने गरिएको छ । नेपाली पक्षले सो कुलो प्रयोग गर्न खोज्दा भारतीय सुरक्षा बल (एसएसबी), भारतीय किसान र भारत सहोदराका मुखिया आएर कुलोको रेखदेख गर्ने, मर्मतसम्भार गर्ने गरेको बताउँदै स्थानीयवासी ईश्वरी भुजेलले भने, “भारतीय पक्षले ४३५ नंको जङ्गे पिल्लर नेपाली भूमिमा सारेर दक्षिणतर्फको छ कट्ठा नेपाली भूभाग अतिक्रमण गरी भोगचलन गर्दै आइरहेको छ ।’’

ठोरीवासीले २०३५ सालको नापीमा सो जग्गा नेपालीले भोगचलन गर्दै आएकामा भारतीय पक्षले दशगजा मिचेर जङ्गे पिल्लर गाडेकामा आपत्ति जनाएको छ । तीन वर्षअघि ठुटे खोलामा पुल बन्यो तर भारतीय पक्षले सो पुल सञ्चालनमा अवरोध गरेपछि हाल खोलाबाट सवारी साधन आउने जाने गरेको छ ।

नेपाली पक्षले सिँचाइका लागि आफ्नो भूमिमा कल्र्भट बनाउन लाग्दा भारतीय पक्षले अवरोध गर्ने गरेको ठोरीवासीले आरोप लगाएका छन् । यस्तो बलमिच्याइका कारण दुई देशबीचको सुमधुर सम्बन्धमा आँच आउने भएकाले यसतर्फ भारतीय पक्ष गम्भीर हुनुपर्ने उनिहरुको भनाइ छ ।

भारतीय तस्करहरुले ठोरीमा आएर नेपाली चेलीसँग विवाह गरी मदिरा पसल सञ्चालन गर्ने तथा होहल्ला, झैझगडा तथा तस्करी गर्ने गरेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा रहेको जङ्गली हात्तीको आतङ्क बढेकाले सोको नियन्त्रण गर्न निकुञ्ज प्रशासनसँग धेरैपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको ठोरीवासीको गुनासो रहेको छ ।रासस