Logo

नापी कार्यालय तनहुँले गाउँ ब्लक लालपूर्जा वितरण गर्दै



दमौली, १४ मङ्सिर  : वर्षौदेखि भोगचलन गर्दै आएका आँबुखैरेनी गाउँपालिकाका वडा १, २ र ३ का ८५ व्यक्तिलाई नापी कार्यालय तनहुँले गाउँ ब्लक पूर्जा वितरण गरेको छ ।

विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नापनक्सा गर्दा छुट भएका स्थानमा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बरका आधारमा नापेर भोगचलनअनुसारको पूर्जा वितरण थालेको प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्सा हुन छुट भएको थियो । सर्वसाधारणको सहजतालाई ध्यानमा राखी गाउँमै पुगेर नापी कार्यालयले पूर्जा वितरण गरेको आचार्यले जानकारी दिए।

गाउँ ब्लक पुर्जा पाउनेमध्ये सबैभन्दा बढी वडा नं १ का ४० रहेका छन् । ग्रामीण भेगका जनतालाई सदरमुकामसम्म आउन नपरोस् भनेर गाउँमै पुगेर पूर्जा वितरण प्रमुख आचार्यले बताए । नापी कार्यालयले केही महिना अगाडि वडा नं ४ भाँगेका २३, लोप्राङका २२ र वडा नं ६ हिलेखर्कका ३३ व्यक्तिलाई ब्लक पूर्जा वितरण गरेको थियो ।

पूर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैङ्कबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अङ्शवण्डा गर्नबाट वञ्चित थिए । तनहुँमा विसं २०७१ सालदेखि गाउँ ब्लक नाप्न शुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ गाविसमा गाउँ ब्लक छ । गाउँ ब्लकअन्तर्गत रहेका सर्वसाधारणले कार्यालयमा आएर ब्लक पूर्जा बनाउन सक्ने बताइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्