Logo

उपनिर्वाचनमा ६५ प्रतिशत मतदान (कहाँ कति प्रतिशत)



काठमाडौं, १४ मंसिर । देशका ३७ जिल्लाको ५२ पदका लागि भएको उपनिर्वाचनमा उत्साहप्रद मतदान भएको छ । निर्वाचन आयोगका अनुसार ६५.४३ प्रतिशत मतदान भएको छ ।

सबैभन्दा बढी जुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि भएको चुनावमा ८५ प्रतिशत मतदान भयो । सबैभन्दा कम थवाङ गाउँपालिकाको वडा नं १ को वडाध्यक्षका लागि भएको मतदानमा १६.४ प्रतिशत मतदान भयो ।

कास्की २ को प्रतिनिधिसभाका लागि भएको चुनावमा ६५, भक्तपुरको प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा ७० प्रतिशत, धरान उपमहानगरपालिका प्रमुखका लागि भएको चुनावमा ५९, गाउँपालिका अध्यक्षका लागि भएको चुनावमध्ये फल्गुनान्दमा ६६, मकालुमा ६५, पिपरामा ६० र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चुनावमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले उत्हासप्रद मतदान भएको जानकारी दिए । मतदान विहान ७ बजेबाट अपरान्ह पाँच बजेसम्म देशका ५२ पदका लागि मतदान भएको हो ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभातर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको थियो । चुनावका लागि ५ हजार २ सय ५२ कर्मचारी खटिएका छन् । ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा थिए । तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्