Logo

बोराभित्रको बास



काठमाडौं, मंसिर १४ । करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए ।

काठमाडौँमा जाडो शुरु भइसकेको छ । बिहान–बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । त्यो पनि रातको १० बजे चिसो सिरेटो नचल्ने कुरै भएन । कालीमाटीबाट बल्खु जाने सडको दायाँबायाँका सटरहरू बन्द थिए । सटरमुनिको सडकपेटीमा सामान हालेर राखिएझैँ बोराको लस्कर प्रहरीको ज्याकेट टल्किए जसरी टाढैसम्म टल्कियो । बोरासँग दर्जनौँ कुकुर गुडुल्किएर सुतिरहेका थिए । नजीक पुग्दा बोराका बीचबीचमा केही मान्छे मजेत्रो ओढेर सुतिरहेका देख्यौँ ।

बत्तीको उज्यालो र मानिसको चहलपहल बढेपछि बोराबाट मुन्टो निस्कियो । तब थाहा भयो, बोरामा त मान्छे रहेछन् । फेरि त्यही बोराबाट अर्को पनि मुन्टो निस्कियो । तातो हुने भएर होला एउटै बोरामा दुईजना पसेका । चिसो सडकपेटीमा सामान्य थोत्रा कपडा लगाएका उनीहरूको आश्रयस्थल, ओढ्ने ओच्छ्याउने सबै त्यही बोरा रहेछ । अघि देखिएका सबै बोरामा यसैगरी मानिसभित्र पसेर सुतिरहेको रहस्य केही क्षणमै खुल्यो । कोही कार्टुन त कोही पातलो मजेत्रोको सहारा लिएर जाडो छल्दै निद्रा पर्खंदै थिए । कोही एक्लै बरबराउँदै थिए । सडकपेटीको चिसो भुल्न धेरै मदिरामा लट्ठ थिए ।

उनीहरूकै भनाइमा दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सडकमा सुत्ने वर्षांैदेखिको दैनिकी हो । गन्ती गर्दा यसरी लस्करै सुतेका ४३ जना भेटिए । उदयपुरका किरण र हिमाल मगर एउटै बोराभित्र रहेका थिए । नजीकै सिसा पसलमा काम गर्ने हिमालले यसरी सुत्नुको कारण खोल्दै भने, “कसैले बस्ने कोठा दिँदैन, कोठा पाउन बूढी चाहिन्छ रे, सिसावालाले पनि बस्न दिँदैन, यहाँ नआए कहाँ जाने त रु” यति भनेपछि उनले मुन्टो बोराभित्र छिराए ।

उनका अनुसार यसरी सडकपेटीमा सुतेको वर्षौं भयो । हिमालसँगै एउटै बोरामा सुत्ने किरण कालीमाटी तरकारी मण्डीमा मजदुरी गर्छन । झण्डै १८ महिनादेखि किरणको दैनिकी पनि यसरी बितिरहेको छ । काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमका प्रतिनिधिमार्फत सडकमा यसरी बस्न नपाइने जानकारी पाएपछि किरणले सोधे, “के हामीलाई अब लान्छ रु, हामी काम गरेर खाने मान्छेलाई यसरी उठाएर लान कहाँ पाइन्छ, यो कसैको सडक होइन, हामी सुत्न पाउँछौँ ।”

आफ्नो कुरा सकेर किरणले पनि मुन्टो बोराभित्र छिराए । जब यहाँका सटर लाग्छन् तब मजदुर, मगन्तेको चहलपहल बढ्ने गरेको डिउटीमा रहेका ट्राफिक एक प्रहरीको भनाई छ । काठमाडौँको सोह्रखुट्टेमा पनि यस्तै दृश्य थियो । इलाम पशुपतिनगरका राजु तामाङ चोकको सडकपेटीमा एक महिलासँग लुट्पुटिएर सुतेका थिए। हालसालै विदेशीले दिएको सुकिलो त्रिपालको ओत लागेर प्रतीक्षालयको कुनामा च्यातिएको मैलो मजेत्रो ओढेर सुतेका उनको निद्रा हामी पुग्ने वित्तिकै भङ्ग भयो । श्रीमती भनिएकी महिला भने गुट्मुटिएर भित्रै लुकिन् ।

उनको काम कवाडी र कार्टुन टिप्ने तथा बेच्ने हो । सुतेकी महिला आफ्नै श्रीमती बताउने तामाङले यो आसपासमा १५÷२० जना यसरी नै सुत्ने गरेका बताए। “आज हामी जानकारी गराउन आएको, अब भोलिदेखि यसरी सडकमा सुत्न हुँदैन, भोलिदेखि नबस्नुस् हैन”, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको भनाइमा उनले मुन्टो हल्लाउँदै सहमति जनाए।

यस्तै दृृश्य शुक्रबार राति शोभा भगवतीको मन्दिरमा समेत देखिन्थ्यो । मदिरामा मस्त भएका व्यक्ति मन्दिर परिसरमा पनि लस्करै थिए । अत्यधिक मदिरा खाएकाहरू सिँढीमा त्यसै लडिरहेका थिए । नयाँ बसपार्क गोङ्गबु क्षेत्रमा माग्दै हिँड्ने भारतीय नागरिक बसपार्क छेउमा सानासाना टेन्ट लगाएर बसेका छन् । शुरुशुरुमा नेपाली नै भएको बताउने उनीहरूले पछि भारतीय भएको स्वीकारे । भारत रुपौडियाका मणिराम पत्थरकटले भने, “हामी केहीले बाटा बेच्ने गरे पनि महिला र बच्चा सडकमा माग्छन्, उनीहरूलाई लैजानुस्, हामीलाई केही नगर्नुस्, हामी बाटा बेचेर कमाउँछौँ ।”

बसपार्कमा झण्डै ५० जनाले यसैगरी माग्ने पेशा अङ्गालेका छन् । महिला र बच्चाले खुट्टै समाएर माग्दा यात्रु तथा पर्यटकले दिक्क मान्ने गरेका छन् । यसअघि उनीहरू नजीकै रहेको शिवमन्दिर क्षेत्रमा थिए । त्यहाँबाट हटाएपछि बसपार्कलाई आश्रयस्थल बनाए । बिहान बसपार्कमा आएका यात्रुसँग खुट्टा समाएर झुण्डिने गरेका नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष दीपेन सुवेदीले बताए । दुई हप्ताअघि उनीहरूलाई प्रहरीले भारत पठाएको भए पनि पुनः फर्केर आएका उनले जानकारी गराए ।

नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक छ । धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र धारा ४३ मा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । चालू आवको बजेट वक्तव्यमा ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा तय गर्दै अशक्त, असहायलाई राज्यबाट संरक्षणको अनुभूति हुने गरी सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने उल्लेख छ ।
रासस



प्रतिक्रिया दिनुहोस्