Logo

होटल र रिसोर्टमा लगानी



काठमाडौँ, १५ मंसिर । विराटनगरका उद्योगी सुरेन्द्र गोल्छाको व्यवसाय खाद्यान्न र अटोमोबाइल्स हो तर अहिले रिसोर्टमा लगानी गर्न थालेका छन् ।

धनकुटाको राजारानीमा रिसोर्ट सञ्चालनमा उनले लगानी थालेका हुन् । विराटनगरलाई आधार क्षेत्र बनाएर उद्योगमा लगानी गर्दै आउनुभएका गोल्छा ८० किलोमिटर दूरीको राजारानी गाउँपालिकामा रिसोर्ट खोल्न पुगेको हो । रिसोर्ट खोल्न ६५ रोपनी जमिन खरिद गरेर संरचना निर्माण थालेका गोल्छाले आफू एक अर्ब लगानी गर्ने तयारीमा रहेको जानकारी दिए। औद्योगिक घरानाकै मोदी दुगडले विराटनगरमै पाँचतारेस्तरको सेन्चुरी होटल निर्माण गरिरहनुभएको छ । यसअघि होटल ह्यारिसन सञ्चालन गरि रहेका दुगडले पनि एक अर्बकै लगानीमा नयाँ होटल निर्माणको काम अन्तिम चरणमा पु¥याएका हुन् ।

औद्योगिक घरानामा परिचित अनुहारले पर्यटन क्षेत्रलाई आधार बनाएर ठूला होटलमा लगानी गरेजस्तै होटल व्यवसायीमा लाग्नेको पनि लगानी थपिँदो छ । विराटनगरमा रत्ना होटल सञ्चालन गर्दै आएका रेवत थापाले धनकुटाको हिलेमा खोलेका होराइजन होटल पर्यटन वर्ष २०२० को लागि प्रतीक्षामा छ । होटल एसोसिएसन प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठका अनुसार पूर्वमा अहिले स्तरीय होटलको सङ्ख्या एक सय पुगिसकेको छ । उच्चस्तरकादेखि मध्यमस्तरका पर्यटकसम्मको सेवाका लागि खुलेका होटलमा दैनिक १० हजार पर्यटकलाई सेवा दिनसक्ने क्षमता विस्तार भइसकेको छ ।

गैरसरकारी र अन्तर्राष्ट्रिय गैसरकारी संस्थाका कार्यक्रममा आधारित होटलको स्वरूप नयाँ रूपमा फेरिँदै गएकोले पर्यटन क्षेत्रमा झण्डै दस अर्बको लगानी भइसकेको श्रेष्ठको दाबी छ । तराई क्षेत्रका मुख्य सहरहरू विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडसँगै धनकुटा र इलाममा पछिल्ला तीन वर्ष मात्रै ५० ठूला होटल खुलिसकेका छन् । कोसी कोरिडोरको धनकुटा भेडेटार, हिले र वसन्तपुरमा जस्तै मेची कोरिडोरको इलाममा पछिल्ला दुई वर्षमा ठूला होटल खोल्ने होडबाजी चलेको बताइन्छ । इलाम घुम्न जाने पर्यटकको सङ्ख्या धेरै बढेका कारण क्षमता वृद्धि गर्नुपर्ने अवस्था आइसकेको व्यवसायीहरू बताउँछन् । इलामको श्रीअन्तु, कन्याम, फिक्कल र सन्दकपुर क्षेत्रमा धेरै व्यवसायीको आँखा पर्दै गएकोले नयाँ लगानीका सम्भावित क्षेत्र मानिएका छन् । तराईको बाटो भएर प्रवेश गर्ने पर्यटकको बसाइँ पहाडी क्षेत्रका होटलमा लामो अवधि हुने गरेका कारण आकर्षण बढ्दै गएको अर्का व्यवसायी भवेश श्रेष्ठ बताए।

पर्यावरणसँगै रमणीय गन्तव्य रहेका पहाडी जिल्लामा तराईकै व्यवसायीले लगानी सुरु गर्नु सुखद रहे पनि आवश्यक जनशक्ति उत्पादनमा ध्यान नदिएमा सेवा प्रभावकारी नहुने चिन्तासमेत उत्तिकै रहेको छ । होटलमा दक्ष जनशक्तिको अभाव देखिए संरचनाले मात्रै सेवा दिनसक्ने अवस्था रहँदैन ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्