Logo

सोमेश्वर गढीमा मूर्ति बगैँचा



काठमाडौँ, १५ मंसिर । देशका विभिन्न क्षेत्रमा सीमा विवादका विषय उठिरहेका बेला भारतसँग सीमा क्षेत्र जोडिएकोे चितवनको माडीमा पर्ने सोमेश्वर गढीमा राष्ट्रियतादेखि दुई देशीय मित्रवत् सम्बन्ध कायम गर्ने सन्देशसहितका मूर्तिहरू कुँदिएका छन् ।

मूर्तिकला कार्यशालामा जम्मा भएका देशैभरका ३९ जना मूर्तिकारमध्ये केहीले बनाएका मूर्ति राष्ट्रियता झल्काउने र दुई देशबीचको मित्रवत् सम्बन्ध कायम गर्ने सन्देश दिने खालका छन् । चितवन माडी घर भएका दिनेश्वर महतोले ढुङ्गा कँुदेर बनाउनुभएको चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डासँगै मुठ्ठी कसेको हातले नेपालीहरूको राष्ट्रियता उजागर गरेको छ ।
“समस्या पर्दा नेपालीहरू एक हुन्छौँ भन्ने सन्देश दिन राष्ट्रिय भाव जगाउने गरी मूर्ति कुँदेको हुँ”, मूर्तिकार महतोले भने।
विगत आठ वर्षदेखि मूर्ति बनाउने पेसा अपनाउँदै आएका महतोले ललितकलाअन्तर्गत मूर्तिकलामै स्नातकोत्तरसम्मको पढाइ पूरा गरेको छ । “आफ्नो पढाइ, सीप र क्षमताले भ्याएसम्म मैले यो मूर्ति कुँदेको हुँ ।

अहिले हेर्ने जतिले मन पराइदिनुभएकोमा खुसी पनि छु”, उनले भने। “एउटा निर्जीव ढुङ्गालाई सजीव मूर्ति बनाउन सजिलो कहाँ छ र तर पनि हरेक मूर्तिकारले आफ्नो क्षमता देखाएर मूर्ति कुँद्ने हो”, महतोले भने। रौतहटका मूर्तिकार राजन काफ्लेले कुँद्नुभएको अमूर्त ढुङ्गाको मूर्तिले दुई छिमेकी देशबीचको मित्रताको सन्देश दिएको छ । “अमूर्त मूर्ति जोकोहीले आआफ्नो परिभाषा गर्न सक्छ । दुई देशको सीमा क्षेत्र नजिकै भएकाले पनि यो मूर्तिले देशहरू बीचको सद्भाव, सहिष्णुता र मित्रताको भाव देखाउने कोसिस गरिएको छ”, उनले भने। सरकारले एक सय पर्यटकीय गन्तव्यभित्र सूचीकृत गरेको माडीको सोमेश्वर गढीमा माडी नगरपालिका र ललितकला प्रज्ञाप्रतिष्ठानले कात्तिक २३ देखि मङ्सिर १० सम्म आयोजना गरेको मूर्तिकला कार्यशालामा दिनेश्वर र राजनजस्ता ३९ जना मूर्तिकारले झन्डै ५० वटा मूर्ति बनाएका छन् । यसरी मूर्ति बनाउनेमा मूर्ति विज्ञानमा स्नातकोत्तर अध्ययन गरेका विद्यार्थीदेखि पेसेवर मूर्तिकारहरूको समेत सहभागिता थियो ।

गढीमै भेटिएका पत्थरलाई कुँदेर मूर्तिकारले मूर्ति बनाएका हुन् । बाघ, गैँडाजस्ता जनावर, शिव, गणेश, देवीलगायतका देवीदेवता र ऋषिमुनिहरूको मूर्ति ढुङ्गामा कँुदिएका छन् । जङ्गलमा सुतिरहेको फ्याउरोको मूर्ति बनाउने मूर्तिकार काठमाडाँैकी अनमरी तामाङ घना जङ्गलमा बाघ, भालुको त्रासमा पनि शान्ति खोज्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको बताए । “त्रास, द्वन्द्व कसलाई मन पर्छ र जति नै डर र त्रास भए पनि सबैभन्दा ठूलो शान्ति हो भन्ने कुरा मूर्तिमा देखाउन खोजिएको हो”, उनले भने। ललितकला क्याम्पसअन्तर्गत मूर्ति विज्ञानमै स्नातकोत्तर तह अध्ययन गर्दै गरेकी तामाङ मूर्ति कला कार्यशालाले पुरानाका अनुभव र ज्ञान सिक्ने मौका मिलेको पनि बताए। “हामी नयाँले पुरानाका ज्ञान सिक्ने मौका पायौँ”, उनले भने। पछिल्लो समय पत्थरमा मूर्ति बनाउनेको सङ्ख्या बढी रहेकै बेला यस्ता कार्यशालाले पुराना र पाका मूर्तिकारलाई प्रविधि सिक्ने मौका पनि दियो । चितवन माडीका ६३ वर्षीया पूर्णबहादुर विश्वकर्माले जीवनमा दुई हजारभन्दा बढी मूर्ति बनाइसकेको बताए।

“मैले जीवनमा छिनोले खोपेरै दुई हजारभन्दा बढी मूर्ति बनाए होला तर अहिले यो कार्यशालामा ग्य्रान्डर, ड्रिल गर्ने मेसिनजस्ता उपकरणमार्फत मूर्तिबवनाउन सिकँे”, गढीमा मूर्ति बनाइरहेका बेला छोटो प्रतिक्रिया दिँदै विश्कर्माले भने ।
सोमेश्वर गढी सामरिक दृष्टिले पनि महत्वपूर्ण स्थान हो । नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने यो क्षेत्र धार्मिक रूपमा पनि महत्वपूर्ण छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल आफूहरूले मूर्तिको खुला सङ्ग्रहालय बनाउनका लागि मूर्तिहरू बन९ाएको बताए। उनले थपे, “हामीले अहिले मूर्तिहरूको बगैँचा बनाएका छौँ । यसले वर्षौं पछिसम्म पनि अहिलेको हाम्रो अवस्था, देश प्रेम, राष्ट्रियता, सद्भावजस्ता कुरा चित्रले बोलेर बसिरहेका हुने छन् । ”
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्