Logo

उपनिर्वाचनमा नेकपालाई पकड क्षेत्रमै धक्का



समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीलाई मुख्य चुनावी क्षेत्रमा ठूलो धक्का परेको छ । भक्तपुर क्षेत्र नं १ क को प्रदेशसभा चुनावमा नेकपा हारको नजिक पुगेको छ । विगतमा नेकपाले जितेको उक्त क्षेत्रमा काँग्रेस उम्मेदवार कृष्णलाल भँडेल जितको नजिक पुगेका छन् ।

चाँगुनारायण नगरपालिका प्रमुखमा समेत नेकपा उम्मेदवारले चुनाव जितेको उक्त क्षेत्रमा नेकपालाई ठूलो धक्का परेको छ । काठमाडौं उपत्यकाभित्रको क्षेत्र भएकाले पनि भक्तपुरको प्रदेश सांसदको चुनावमा नेकपा उम्मेदवारको पराजय निश्चितप्रायः भएबाट सकारात्मक सन्देश जानेछैन । टिकट बाँडफाँडमै विवाद भएको उक्त क्षेत्र गुम्ने भन्दै नेकपाका नेता कार्यकर्ताले प्रतिक्रिया दिन थालिसकेका छन् ।

भरतपुर महानगरपालिकाको तीनवटै वडामा काँग्रेस उम्मेदवार विजयी भएका छन् । नेकपा अध्यक्ष प्रचण्डको गृह जिल्ला र उनकै छोरी रेणु दाहाल मेयर भएको महानगरपालिकामा उपनिर्वाचनमा सबै क्षेत्र गुम्नुलाई अर्थपूर्ण मानिएको छ ।

देशका अन्य क्षेत्रमा पनि नेकपाले पकड जमाएको क्षेत्र गुमाएको छ । धरान उपमहानगरपालिकाको मेयरमा कडा प्रतिष्पर्धा भइरहेको छ । विगतमा नेकपा उम्मेदवारले जितेको क्षेत्रमा काँग्रेस उम्मेदवार मतगणनामा अगाडि देखिएका छन् ।

चुनावी नतिजाले नेकपाप्रति जनतामा असन्तुष्टि बढेको सन्देश गएको छ । पछिल्लो समय नेकपा सरकार एकपछि अर्को काण्डमा फस्दै गएकाले पनि सन्देश राम्रो गएको छैन ।

रवीन्द्र अधिकारीले विजय प्राप्त गरेको कास्की २ मा भने विद्या भट्टराई अगाडि देखिएकी छिन् । भेट्रान नेता खेमराज पौडेल पछाडि छन् । त्यस क्षेत्रमा विद्यालाई सहानुभूतीको मत आइरहेको विश्लेषण भइरहेको छ । कास्कीमा विद्याबाहेकको उम्मेदवारको सम्भावना कमजोर हुनेथियो भन्ने देखिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्