Logo

उपनिर्वाचनको सन्देश !



काठमाण्डौ । मुलुकका ३७ जिल्लाका ५२ पदमा उपनिर्वाचन राष्ट्रिय राजनीतिमा निक्कै ठूलो फेरबदल राख्ने खालको थिएन । यसले न त संघीय सरकारलाई नै हल्लाउन सक्छ, न त कुनै प्रदेशको सरकारको समीकरणलाई प्रभाव पार्छ । तर पनि बेलाबेलामा हुने यस्ता निर्वाचनले शासनसत्ताप्रति जनताको सन्तुष्टिको मापन भने हुने गर्दछ ।

प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९४ मत ल्याइ विजयी भएकी छिन् । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले पराजित गरेकी हुन् । कांग्रेस उम्मेदवार पौडेलले कुल १५ हजार ९ सय ९१ मत प्राप्त गरे । यस्तै समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुरुङले १९ सय २२, राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीले १ हजार १ सय ५३, साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९ सय ४२ मत प्राप्त गरेकी छिन् ।

यो निर्वाचन क्षेत्रमा गएको चुनावमा भट्टराईका पति रविन्द्र अधिकारीले जितेका थिए । अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि नेकपाले भट्टराईलाई उम्मेदवार बनाएको थियो ।

गएको निर्वाचनमा भक्तपुर १ को क निर्वाचन क्षेत्रबाट प्रदेशसभामा बामगठबन्धनका उम्मेदवार विजयी भएका थिए । उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद भडेलले विजयको ताज पहि¥याएका छन् । एमाले र माओवादी एक भई निक्कै ठूलो दल बनेको मानिएको अवस्थामा नेकपाका उम्मेदवार देवीप्रसाद ढकाल अभागी सावित भएका छन् ।

बाँके, अछाप, बाजुरा, सिन्धुपाल्चोक, सिरहा र पाँचथरका ६ वटा वडामा कांग्रेसको सिट नेकपाले खोसे पनि झण्डै त्यत्तिकै स्थानमा नेकपाले जितेका ठाउँ कांग्रेसले फुत्काएको छ । भरतपुर महानगरपालिका जस्तो नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रभाव क्षेत्रको वडा पनि कांग्रेसले फुत्काएको छ । देशभरको अन्तिम परिणाम आइनसके पनि यो निर्वाचन प्रमुख प्रतिपक्षी कांग्रेसका लागि फलदायी भएको छ । अघिल्लो निर्वाचनमा एमाले र माओवादीका उम्मेदवारको मत जोड्दा कांग्रेसभन्दा करिव १५ हजार मत बढी हुन आउँछ ।

तर मतदाताबीच त्यहाँ कांग्रेसले आफ्नो लोकप्रियता उल्लेखनीय रुपमा बढाएको छ । पार्टी एकता गरेपछि नेकपाको आयतन अझ फैलने अनुमान धेरैको थियो । तर त्यो दल खुम्चिएको छ । त्यसको कारण नेकपा सत्तामा रहेको र सरकारले जनजिविकाको सवालमा प्रभावकारी काम गर्न नसक्नु नै पहिलो हो । दुइतिहाइको सरकारसँग जनताले निक्कै ठूलो भरोसा गरेका थिए ।

अहिलेसम्मको अपडेटअनुसार महत्वपूर्ण मानिएको धरान उपमहानगरपालिकामा पनि कांग्रेसले अग्रता लिइरहेको छ । बाग्लुङ र दाङको प्रदेशसभा सदस्यमा भने कांग्रेस पछि परेको छ ।

स्थीर सरकार बनेपछि जनताले राहत महसुस गर्ने अपेक्षा थियो । तर तीन तहको सरकार संचालनपछि सर्वसाधारण तिनवटै तहका सरकारको करबाट आहात भएका छन् । अर्को कारण नेकपाभित्रको एकता प्रक्रियामा भएको ढिलाइ हो । नेकपाले तत्लो तहसम्म एकताको अभ्यास गर्न खासै पाएन ।

स्थानीय तह क्रियाशील हुने अवस्था यसबीचमा आएन । एकता प्रक्रियाका कतिपय काम अझै बाँकी छन् । यसबीचमा आन्तरिक किचलोको आधारमा कांग्रेसभन्दा नेकपा गतिलो भन्ने देखिएन ।

नेकपा सदैव गुटगुटको टकरावको संघर्षमा जेलिनु परेको छ । नेकपाका पहिलो अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जनमतलाई आफ्नो पक्षमा तान्न प्रखर हुन् । तर उनी अस्वस्थ हुँदा पनि नेकपालाई अपेक्षित सफलता हात परेन । यो निर्वाचनबाट सरकारलाई आफ्नो कामकारवाहीलाई प्रभावकारी बनाउने सन्देश सरकार र सत्तासीन दलले बुझ्न जरुरी छ ।

दलहरुले पाएको मत भनेको अस्थायी हो । यसबारे हेक्का राख्न प्रमुख दलहरुले जरुरी छ । जनपक्षीय काम गर्न सत्तासीन दललाई उपनिर्वाचनले सन्देश दिएको छ भने जनताले नेपाली कांग्रेसलाई पनि प्रमुख प्रतिपक्षको रुपमा जिम्मेवार र थप सशक्त भूमिकाको अपेक्षा मतदानमार्फत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्